नवलपरासीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बर्दघाटमा स्वागत गरिएको छ । पार्टीको ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ अन्तरगत बुधबार आयोजना गरिएको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड मङ्गलबार बेलुका करिब ६ बजे पश्चिम नवलपरासीको बर्दघाट आइपुग्नुभएको हो ।
बर्दघाटको टीसीएन चोकमा जिल्ला स्थित नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, पार्टीका जनवर्गीय सङ्गठनका पदाधिकारीहरू, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्रप्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल लगायतले स्वागत गर्नुभएको हो ।प्रचण्ड हाल निमार्णको अवस्थामा रहेको र यात्रुहरूले निकै सास्ती पाइरहेको बुटवलनारायणगढ सडक खण्ड प्रयोग गरेर बर्दघाट आउनुभएको थियो ।
अभियान अन्तरगत प्रचण्डले बुधबार बिहान ११ बजे प्रतापपुर गाउँपालिका वडा नम्बर ९ स्थित त्रिभुवन मा.वि.को प्राङ्गणमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने दिउँसो २ बजे राधाकृष्ण मा.वि. विष्णुपुरामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बेलुका ४ बजे बुद्धिजीवी वर्ग, समाजसेवी, राजनीतिज्ञ आदी व्यक्तिहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया