नवलपरासी: पूर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दुम्कीबास सडकखण्डमा लागेको सवारी जाम हट्न सकेको छैन । बर्दघाट देखी दुम्कीबास सम्मको करिव १४ किलोमिटर सडकको यात्रा गर्न घण्टौँ लाग्ने गरेको छ ।
सवारी जामका कारण सडक एकतर्फी रुपमा सञ्चालन गर्नुपरेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जानकारी दिनुभयो । बुटवल नारायणगढ सडक खण्ड विस्तारको क्रममा रहेकोले पनि दाउन्ने क्षेत्रमा सवारी जामको समस्या पटक पटक दोहोरिने गरेको छ । भारतबाट आएका मालबाहक टेलर तथा ट्रकहरू सडकमा बिग्रिने र सडककै अवस्थाका कारण व्यवस्थापनमा कठिनाइ हुँदा जाम हटाउन कठिन हुने गरेको प्रहरी निरीक्षक तिमिल्सिनाको भनाई छ ।
सोमबार त्रिवेणी स्थित गजेन्द्रमोक्ष धाम देखी मुक्तिनाथ सम्मका लागि धार्मिक रथयात्रा प्रारम्भ भएका कारण रथलाई बर्दघाट हुँदै दुम्कीबास पार गराउने क्रममा पनि सवारिसाधन सञ्चलनमा कठिनाइ उत्पन्न भएको उहाँले बताउनुभयो । सवारी जाम लाग्नुको मुख्य कारण भने निर्माणधीन सडकको अवस्थानै प्रमुख रहेको तिमिल्सिनाको भनाई छ ।
पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूको लागि बर्दघाट देखी दुम्कीबास सम्मको यात्रा निकै कष्टकर हुनेगरेको छ । साना सवारीसाधनहरू लाइन मिचेर ओभरटेक गर्ने प्रवृत्तिका कारण जाम हुने गरेको यात्रुहरू बताउँछन् ।
प्रहरीले हरेक १० मिनेटमा ५ देखी ७ वटा सवारी साधन पठाउने गरेको छ । दुवै तर्फ पालै पालो सवारी साधन पठाउँदा जाम तत्कालै जाम खुल्ने अवस्था रहेको छैन ।
प्रतिक्रिया