नवलपरासी: नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित गरी सञ्चालन गरेका जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तरगत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पश्चिम नवलपरासीको बर्दघाटमा आइपुग्नुभएको छ । अभियानका क्रममा नागरिक सँग जोडिने, पार्टीका सहिद तथा बेपत्ता परिवार सँग भेटघाट गर्ने र पार्टीबाट भएका कमीकमजोरी सच्याउँदै आगामी कार्यदिशा तय गर्ने गरी माओवादी केन्द्रले अभियानलाई तिव्रताका साथ अगाडि बढाइरहेको छ ।
अभियानका क्रममा प्रचण्ड द्वन्द्वकालमा बेपत्ता भएका राजुराम पौडेलको बर्दघाट स्थित घरमा बास बस्नुहुने भएको छ ।
को हुन् बेपत्ता राजुराम पौडेल ?
२०३५ साल कार्तिक १४ गते साविक माकर गाविसको वडा नम्बर १ मोतीबस्तीमा पिता घनाथ पौडेल र माता दुर्गा देवी पौडेलको कोखबाट राजुरामको जन्म भएको हो । उहाँकी एक दिदी कोपिला पौडेल र भाइ लेखनाथ पौडेल हुनुहुन्छ । २०५३ साल देखी तत्कालीन नेकपा माओवादीमा आबद्ध भएर राजनीतिक जीवन अगाडि बढाइरहनुभएको थियो । २०५६ साल बाट भने उहाँ पूर्णकालीन रुपमा जनमुक्ति सेनाको रुपमा कार्यरत हुनुभएको थियो ।
२०५८ फागुन २५ गते तत्कालीन साहिनेपाली सेनाले कास्कीको पोखरा नदिपुरबाट उनलाई पक्राउ गरी बेपत्ता बनाएको हो । उनको अन्तिम जानकारी २०५९ जेठ २ गते सेनाको ब्यारेकमा रहेको जनादेश पत्रिकाका पत्रकार राजु क्षेत्रीले आफूले भेटेको कुरा शान्ति प्रकृया पछि परिवारलाई जानकारी गराएको राजुरामका भाइ लेखनाथ पौडेलले बताउनुहुन्छ । पत्रकार क्षेत्री स्वयम् राज्य पक्षबाट थुनामा भएका कारण त्यस पछि पौडेलको अवस्थाका बारेमा जानकारी लिन नसकेको पारिवारिक रुपमा आफूलाई जानकारी गराएको लेखनाथ बताउनुहुन्छ ।
राजुराम राज्य पक्षबाट बेपत्ता पारिएको २३ वर्ष १ महिना ७ दिन भएको छ । पौडेल परिवारमा तत्कालीन जनयुद्धको नेतृत्व गरेका सुप्रिम कमान्डर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज बास बस्दै हुनुहुन्छ । घरमा प्रचण्ड आउने भएपछि छोरा बेपत्ताको पीडामा रहेकी आमा दुर्गादेवी पौडेल खुसी हुनुहुन्छ । देश परिवर्तनको लडाइँमा राज्यले बेपत्ता पारेको छोरो नफकिए पनि पार्टी अध्यक्ष प्रचण्डले आफ्नो परिवारको अवस्था बुझ्नेगरि बास बस्न आएकोमा खुसी छु । “मेरो छोरा जस्ता हजारौँ छोरा छोरीलाई तत्कालीन राज्यले बेपत्ता बनाएको हो कयौँ छोरा छोरी शहीद भए उनीहरूको सपना अनुसार देश अगाडि बढाए हुने थियो । ” दुर्गादेवी भन्नुहुन्छ ।
अहिले पनि देशलाई सही दिशामा लैजान प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा आफ्नो भरोसा रहेको दुर्गादेवी बताउनुहुन्छ ।
प्रतिक्रिया