गुल्मी:श्री महालक्ष्मी सामुदायिक सिकाइ केन्द्र सत्यवती १ अस्लेवा गुल्मीको आयोजनामा बैशाख २१ गते देखी सुरु भएको ५ दिने उद्घोषण तथा वाद्यवादन तालिम सम्पन्न भएको छ ।
विहीबार एक समारोहका बिच तालिमको समापन गरिएको हो । समापन समारोहमा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका सत्यवती १ का वडा अध्यक्ष अर्जुन कनौजेले तालिम निकै प्रभावकारी भएको बताउनुभएको थियो । उहाँले हिजो माइक समात्न डराउने महिला दिदीबहिनीहरू आज अगाडि आएर निर्धक्क बोल्न सक्ने हुनु निकै खुसीको कुरा भएको भनाई राख्नुभएको थियो ।
हिँजो सिकाइ केन्द्र कहाँ छ भन्नेहरुका लागि महालक्ष्मी सामुदायिक सिकाइ केन्द्रले उदाहरणीय काम गर्दै आफूलाई शसक्त रुपमा स्थापित गरेको कनौजेको भनाई रहेको थियो । जो राम्रो सँग बोल्न सक्छ उसैले नेतृत्व गर्न सक्छ भन्ने कुरा बुझेर सिकाईलाई व्यवहारमा निरन्तरता दिन महिला दिदीबहिनीहरूलाई आग्रह गर्नुभएको थियो । उहाँले अस्लेवा किसासमा मात्र १ नम्बर नभएर देशकै नेतृत्व उत्पादन गर्ने क्षमता भएको ठाउँ भएको बताउनुभएको थियो ।
कार्यक्रममा महालक्ष्मी सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष माया थापाले महिला दिदीबहिनीहरूलाई सबल र सक्षम बनाउनका लागि यस तालिमको आयोजना गरिएको बताउनुभएको थियो । उहाँले अब महिलाहरू आफूमा क्षमता छैन भनेर पछाडि हट्ने नभई अव हरेक क्षेत्रमा अग्रसर हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा वडा सदस्य लक्ष्मी पाण्डे, उषा परियारले पनि मन्तव्य व्यक्त गर्दै बोल्न डराउने महिला दिदीबहिनीहरूका लागि तालिम फलदायी भएको बताउनुभएको थियो । सिकाइ केन्द्रकी सदस्य सचिव गोमा थापाले महिला दिदीबहिनीहरूको सीप र क्षमता विकासका क्षेत्रमा सिकाइ केन्द्रले आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको थियो । उहाँले सिकाइ केन्द्रमा पर्याप्त बजेट नहुने भएकोले माग अनुसारका कार्यक्रमहरू सञ्चालन गर्न नसकिएको बताउनुभयो ।
कार्यक्रममा उद्घोषण तालिममा प्रशिक्षार्थीको रुपमा रहेका महिला दिदीबहिनीहरूले मन्तब्य ब्यक्त गर्नुभएको थियो । उद्घोषण तालिमको सहजीकरण न्यूज कुरा डट कम का प्रबन्ध निर्देशक नारायण भण्डारी र वाद्यवादनको सहजीकरण सङ्गीतकार जङ्गबहादुर कुमालले गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन प्रशिक्षार्थी जानका पाण्डे र स्वागत मन्तव्य प्रशिक्षार्थी अस्मिता पाण्डेले गर्नुभएको थियो ।
प्रतिक्रिया