तनहुँ : तनहुँमा ग्यास बुलेट दुर्घटनामा पर्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा दुर्घटनामा परेको बुलेटका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
शनिवार साँझ ६ बजेको समयमा पृथ्वी राजमार्गबाट मुग्लिन हुँदै दमौलीतर्फ गैरहेको भारतीय नम्बरप्लेटको एचआर ५५ क्यू ४७११ नम्बरको ग्यास बुलेट बोकेको गाडी घुमाउरो सडकमा दुर्घटनामा परेको हो । दुर्घटनामा भारतको बिहार राज्यको मिर्जापुरका ३५ वर्षीय श्रीकान्त कुमार गम्भीर घाइते भएका थिए ।
उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा साढे ८ बजे चिकित्सकहरुले मृत घोषित गरेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । भारतबाट आफन्त आएपछि मात्र उनको पोस्टमार्टम हुने प्रहरीको भनाइ छ ।
बुलेटले शक्ति ग्यास कम्पनीको ग्यास बोकेको थियो । ग्यासले भरिएको बुलेट पल्टिए पनि बुलेटमा कुनै असर नपरेकोले थप ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।
प्रतिक्रिया