आज माघ शुक्ल पक्षको पञ्चमी तिथि श्री पञ्चमी अर्थात सरस्वती पुजा । आजको दिनमा विद्याकी देवी सरस्वतीको आराधना गरी बालबालिकालाई पहिलोपटक अक्षर आरम्भ गराउने दिन हो । आजकै दिन सरस्वतीको आराधना गरी नयाँ कार्यको थालनीका लागि उत्तम दिनको रुपमा लिइन्छ । पछिल्लो समय विद्यालयहरूले भर्ना अभियानको सुरुवातको रुपमा पनि यस दिनलाई लिँदै आएका छन् ।
सामुदायिक विद्यालयहरू विद्यालय प्रवेश गर्ने उमेरका बालबालिकालाई विद्यालयमा ल्याउनका लागि विभिन्न कार्यक्रम गर्ने गर्दछन् । संस्थागत विद्यालयहरूले यस दिनकै लागि पहिलेदेखिनै ब्यापक प्रचारप्रसार गर्ने र विद्यार्थी भर्नाका लागि विभिन्न स्किमहरु सार्वजनिक गरेर पूर्व प्राथमिक तहमा विद्यार्थीहरू भर्ना गर्नका लागि प्रतिस्पर्धानै गर्ने गर्दछन् । जसले जसरी गरे पनि श्रीपञ्चमीको दिन विद्याकी देवी सरस्वतीको विशेष दिनको रुपमा रहेको मान्यता रहँदै आएको छ । सरस्वती पूजामा विशेष कार्यक्रम गरेर विद्यार्थी आकर्षण गर्नका लागि जुन मेहनत देखिन्छ विद्यार्थीलाई निरन्तर टिकाइराख्नको लागि पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । विशेषगरी सामुदायिक विद्यालयहरूमा जति विद्यार्थी भर्ना हुन्छन् सोही अनुरूप निरन्तरताको अभाव रहेको पाइन्छ । पछिल्लो समय स्थानीय सरकारहरूले पनि शिक्षालाई प्राथमिकतामा राखेको भन्दै चर्का भाषण गरिरहेका हुन्छन् । जति भाषण हुन्छ त्यसको अनुपातमा शिक्षाको अवस्था सन्तोषजनक भने पाइदैन ।
श्री पञ्चमी अर्थात बसन्त पञ्चमी । आजकै दिन देखी बसन्त ऋतुको सुरुवात भएको मानिन्छ । ऋतुहरूमा सबैभन्दा उत्तम बसन्त ऋतु हो । बोट बोटबिरुवाहरूले पनि पुराना पात फेरेर नयाँ पालुवाहरू फेर्ने गर्दछन् । प्रकृतिले पनि नयाँ पनको आभास गर्ने गर्दछ । त्यसैले पनि होला बालबालिकाहरू पनि नयाँ पालुवाहरू हुन् । जुन उत्साहका साथ आजको दिनमा बालबालिकाहरूलाई अक्षर आरम्भ गराइन्छ सोही अनुसार बालबालिकालाई घरमा भन्दा विद्यालयमा रमाउने वातावरण सिर्जना गर्न तर्फ पनि ध्यान दिनु आवश्यक छ । जतिनै चर्का कुरा गरे पनि अझैपनि निशुल्क शिक्षाको सर्वसुलभ पहुँच शतप्रतिशत पुग्न सकेको छैन । सामुदायिक र संस्थागत विद्यालयका नाममा जुन भिन्नता छ यहाँ बालबालिकाले प्राप्त गर्ने शैक्षिक गुणस्तमा पनि ठुलै भिन्नता छ । सामुदायिक विद्यालयहरू अझै पनि समय सापेक्ष परिवर्तन हुन सकिरहेका छैनन् । प्रविधिको विकासले दिन प्रतिदिन चुनौती थपिरहेको समयमा अझै पनि पुरानै शैलीबाट विद्यालय सञ्चालन गर्ने मानसिकताले शिक्षामा गरेको लगानी बालुवामा पानी सावित हुनेछ । अझ भनौ शैक्षिक वेरोजगार उत्पादन गर्ने फ्याक्ट्रि बन्नेछ ।
के सामुदायिक विद्यालयकी सरस्वती र संस्थागत विद्यालयकी सरस्वती फरक हुन् ? होईनन् भने सामुदायिक र संस्थागत विद्यालयको विचमा किन यति गहिरो खाडल छ ? के विद्यालयको शैक्षिक गुणस्तर उकास्ने जिम्मेवारी शिक्षकको मात्र हो ? यसमा अभिभावक, समुदाय, सरकारको कुनै भुमिका हुँदैन ? सहि नितिको निर्माण र त्यसको असल कार्यानवयन संगै अभिभावक र समुदायको सकारात्मक सहयोग प्राप्त गर्नेहो भने सामुदायिक विद्यालयको शिक्षा निकै अगाडि बढ्न सक्छ ।
सामुदायिक विद्यालयहरू राजनैतिक शक्ति प्रदर्शन गर्ने केन्द्र, गरिव, विपन्न तथा सिमान्तकृत समुदायका बालबालिका पढ्ने ठाउँ भनेर परिचित छन् । साँच्चिकै यसको परिचय बदल्नका लागि एक प्रकारको क्रान्ती गर्नैपर्ने हुन्छ ।
आजको दिनमा चाहे संस्थागत होस चाहे सामुदायिक विद्यालय एक अभिभावकले जुन अभिलासा बोकेर आफ्नो सन्तानलाई अक्षर आरम्भ गराउनका लागि विद्यालय पुग्नुभएको हुन्छ साँच्चिकै अभिभावकले परिकल्पना गरेको छोराछोरीकाे भाेलिकाे भविश्य उज्ज्वल बनाउनका लागि विद्यालयले राम्रो भुमिका खेल्न सकोस् । आफ्नो गास कटाएर टाई सुटमा विद्यालय पठाएका बालबालिकाहरुको भोलिको भविश्य अन्धकार नबनोस । के धनी के गरिव सबैका लागि शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित होस । बालबालिकाको अक्षर आरम्भ मात्र होईन शिक्षाको अशल निति निर्माण गर्न नेतृत्वको मस्तिस्कमा पनि असल सोचको आरम्भ होस । दुईवटी सरस्वती होईन सबैको मन मस्तिस्कमा बस्ने एउटै सरस्वतीको साथ मिलोस शुभकामना ।
प्रतिक्रिया