नवलपरासी: पौडेल वंश महासङ्घ नेपालका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले आयातित संस्कृतिमा रमाउँदा मौलिक संस्कृति लोप हुँदै गएको बताउनुभएको छ । देशलाई सुसंस्कृत बनाउने अभियानमा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
पौडेल वंश महासङ्घ जिल्ला कार्यसमिति पश्चिम नवलपरासीको आज बर्दघाटमा सम्पन्न दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष पौडेलले पश्चिमा संस्कृतिमा रमाउनु भन्दा आफ्नो मौलिक पहिचान जोगाउन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “हामीले हाम्रो संस्कार भुलेर जन्मोत्सव होइन् बर्थ डे मनाइरहेका छौँ, अनि अलि लाज लाग्दो चलन बेबी सावर मनाउन थालेका छौँ, यस्ता गलत संस्कारको पछि हामी लागिरहेका छौँ यी हाम्रो संस्कार होइनन्, हाम्रो धर्म संस्कारमा त १६ वटा संस्कार छन्, ती राम्रा संस्कारलाई अँगालौँन, यी आयातित संस्कार छोडौँ, संस्कार पहिचानसँग जोडिएको छ, हाम्रो संस्कार भुल्यौँ भने हाम्रो पहिचान पनि हराउँछ।” पौडेल वंशका पुर्खाहरूले मुलुक एककीरण र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै अध्यक्ष पौडेलले मुलुकलाई सुसंस्कृत र सभ्य बनाउने अभियानमा अहिलेका पुस्ता लाग्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
महासङ्घका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शालिग्राम पौडेलले विभिन्न ठाउँमा छरिएर रहेका सम्पूर्ण पौडेल बन्धुबान्धवहरू आपसी भाईचारा, सद्भाव र एकता अभिवृद्धि गर्न साझा घरको रुपमा पौडेल वंश महासङ्घ स्थापना गरिएको बताउनुभयो ।
केन्द्रिय उपाध्यक्ष दीपक प्रसाद पौडेलले महासङ्घले पौडेल वंशको विशिष्ट पहिचान, परम्परा, संस्कार र संस्कृतिको जर्गेनामा गर्दै सामूहिक एकताको भावनालाई बलियो बनाएको बताउँदै थप बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । केन्द्रिय सदस्य एवं वंशावली निर्माण समितिका संयोजक प्रा. डा. कृष्णप्रसाद पौडेलले अत्रि ऋषिका सन्तति आत्रेय गोत्रीय पौडेल बन्धुहरू जहाँ छरिएर रहे पनि एउटै वंश, कुल संस्कार, परम्परा अवलम्बन गर्दै आएको बताउँदै आफ्नो वंशावली खोजी गरी लिपिवद्ध गर्न आग्रह गर्नुभयो ।
महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष टेकराज पौडेलले प्रदेशका १२ वटै जिल्लामा बसोबास गर्दै आउनुभएका पौडेल बन्धुहरूलाई सङ्गठित गर्दै बन्धुत्व, समाज हित र राष्ट्रहितका कार्य गर्दै कूल पुजा विधि तथा वंशावली निर्माणको अभियानलाई अघि बढाइरहेको बताउनुभयो ।
पौडेल वंश महासङ्घका जिल्ला अध्यक्ष धनञ्जय पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सचिवालय सदस्य रामचन्द्र पौडेल, प्रदेश सल्लाहकार मायादेवी पौडेल, पौडेल वंशावली निर्माण समिति नवलपरासीका संयोजक कृष्णप्रसाद पौडेल,महासंघ बर्दघाट नगर अध्यक्ष केवल पौडेल, जिल्ला सदस्य तिलकप्रसाद पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको पौडेल वंश महासङ्घ नवलपरासीका सचिव मोहन पौडेलले जानकारी दिनुभयो । सभाले अध्यक्ष धनन्जय पौडेलद्वारा प्रस्तुत प्रगति प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
प्रतिक्रिया