१७ असोज, गैँडाकोट : बुधबार गैँडाकोटमा अवस्थित एसपीएम कलेजमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घको नयाँ नेतृत्व चयन गरिएको छ । सङ्घको चौथो अधिवेशनले गणेशप्रसाद शर्मा सभापति रहने गरी ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन संयोजक शिवजी अधिकारीले जानकारी दिनुभयो ।
नवगठित समितिको उपसभापतिमा कमलराज घिमिरे, सचिव महेश्वर पौडेल, कोषाध्यक्ष शुकदेव सुवेदी र सदस्यहरूमा क्रमशः रेखा लम्साल, अरुण कार्की, वीरेन्द्रकुमार राय, सुजन अधिकारी, रामबहादुर राम्जे र यमुना केसी रहनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सभापति गोविन्द रिमालको अध्यक्षतामा चौथो अधिवेशन एवम् शुभकामना कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले सङ्घले कलेजको सर्वाङ्गीण विकासमा रचनात्मक भूमिका निर्वाह गर्नेमा आफू निश्चिन्त रहेको बताउनुभयो । साथै आफ्नो निरन्तर साथ र शुभेच्छा रहने धारणासमेत उहाँले राख्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस नवलपरासी (व.सु.पू.) क्षेत्र नं १ प्रदेश क का सभापति गोपाल सापकोटाले कलेजसँग आफू सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो । कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाली काँग्रेस गैडाकोट नगरपालिकाका सभापति बद्री सापकोटाले देशको बिग्रदो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।
उहाँले अतिवाद बढ्दै जाँदा आपसी सम्बन्धमा समेत खलल पुगेको बताउनुभयो । यसै गरी कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ कालिका संस्कृत विद्यापीठ इकाई समितिका सभापति डा. केशवराज चालिसे, एसपीएम कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र भक्त अधिकारी, प्राचार्य दीपेन्द्र पौडेल, विभागीय प्रमुख शिवजी अधिकारी, शिक्षा शास्त्र सङ्काय प्रमुख माधवप्रसाद सिग्देल, प्राध्यापक सङ्घ सभापति अर्जुन गिरी, उपप्राध्यापक देवकी गौतम, स्वतन्त्र विद्यार्थी युनियनका सभापति विज्ञान न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उपसभापति गणेशप्रसाद शर्माको सहजीकरण रहेको सो कार्यक्रममा सचिव कमलराज घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नजिकिँदै गरेका चाडपर्वहरू दशैं, तिहार, छठ र नेपाल सम्वत् ११४५ को अवसरमा शुभकामनासमेत आदानप्रदान गरिएको थियो । नवनिर्वाचित समितिको पद हस्तान्तरण कार्यक्रम विहीबार सम्पन्न गर्ने तयारी रहेको निर्वाचन संयोजक शिवजी अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया