+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुपर त्रिशूली जलविद्युत् आयोजनाका ३ टिपर र २ एक्साभेटर त्रिशुली नदिले बगायो

न्यूज कुरा
२०८१ आश्विन १२, शनिबार

१२ असोज, काठमाडौँ : अविरल वर्षाका कारण त्रिशूली नदिमा आएको बाढीले एक्साभेटर र टिपर बगाएको छ । गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका –३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको हो ।


शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।


बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिपर बगाएको आयोजनाका कर्मचारी सङ्गम मगरातीले जानकारी दिनुभयो । “साँझतिर एउटा एक्साभेटर र एउटा टिपर बगाएको थियो” उहाँले भन्नुभयो “सोही ठाउँमा रहेको थप एउटा एक्साभेटर र दुईवटा टिपर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ ।”

नदीमा बाढी आएपछि शुक्रबार दिउँसोदेखि नै आयोजनाको तीनवटा टिपर, दुईवटा एक्साभेटर नदीको बीचमा फसेका थिए । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उहाँको भनाइ छ ।


ब्लु इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिपर र एक्साभेटर नदीले बगाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ