११ असोज, नवलपरासी : बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा रहेको नवजीवन माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई दुना टपरी बनाउन सिकाइएको छ । विद्यालयले बुक फ्रि डे अन्तरगत शुक्रबारै अतिरिक्त क्रियाकलाप अन्तरगत सीप सिकाइएको हो ।
कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरूलाई दुना टपरी बनाउने कार्यमा सहभागि गराइएको थियो । उनीहरु विहीबार जङ्गल गएर सालका पात टिपेर ल्याएका थिए । एकता आमा समुहका अध्यक्ष शारदा नेपालको संयोजकत्वमा आमासमुहका महिला दिदी बहिनीहरूले विद्यार्थीहरूलाई कुशलतापुर्वक सिन्का बनाउने देखी दुना टपरी बनाउने कार्य सिकाएका हुन् । कार्यक्रममा विद्यार्थीहरूले निकै रुचिपूवर्क सहभागिता जनाएका थिए ।
सधैँ किताबी ज्ञानमा आधारित भएर पढ्ने विद्यार्थीहरू पछिल्लो समय व्यवहारिक सीप आर्जन तर्फ सहभागि हुन पाउँदा निकै उत्साही देखिन्छन् । विद्यार्थीहरूले दुना टपरी बनाउन सिकाइरहँदा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले अवलोकन गर्नुभएको थियो ।
विद्यालयमा आयोजना गरिने यस्ता क्रियाकलापले विद्यार्थीवर्गमा व्यवहारिक सीपको विकास सँगै सिर्जनशीलताको विकास हुने उपाध्यायले बताउनुभयो । दुना टपरी मानिसको जन्म देखी मृत्युसंस्कार सम्म, पूजाआजा गर्न अत्यावश्यक भएकोले विद्यार्थीहरूले सिकेको सीप व्यवहारिक जीवनमा प्रयोग गर्न उपाध्यायले आग्रह गर्नुभएको थियो ।
विद्यालयकी सहायक प्रधानाध्यापक जानकी भण्डारीले आगामी दिनमा पनि सीपमुलक क्रियाकलापलाई निरन्तरता दिइने बताउनुभयो । विद्यार्थीलाई पुस्तकको ज्ञान अलावा व्यवहारिक ज्ञानको उत्तिकै आवश्यक हुने भएकोले विद्यालयले समय समयमा यस्ता कार्यक्रम गर्दै आइरहेको उहाँको भनाई छ ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रहनुभएका शिक्षक कविन्द्र अधिकारीले विद्यार्थीहरूलाई सिर्जनशील बनाउनका लागि आगामी दिनमा थप कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो ।
नवजीवन माविमा यस अघि विद्यार्थीहरूलाई मम बनाउने सीप सिकाईएको छ ।
प्रतिक्रिया