८ असोज, नवलपरासी: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कार्य सम्पादन सम्झौता गरेको छ । नगर कार्यपालिकाले गरेका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सन्दर्भमा नगरप्रमुख शम्भुलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल बीच कार्य सम्पादन सम्झौता भएको हो ।
चालू आर्थिक वर्षका लागी कार्यपालिकाले तय गरेका नीति कार्यक्रम र बजेटका सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत खनाल र शाखा प्रमुखहरू बीचसमेत कार्य सम्पादन सम्झौता गरिएको छ । शिक्षा, स्वास्थ्य र राजस्व शाखालाई ९० प्रतिशत पूरा गर्नु पर्ने लक्ष्य निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताउनु भयो । “ हामीले शाखागत रूपमा कार्य सम्पादन सम्झौता गरेका छौँ । जसमा कम्तीमा ८० प्रतिशत हासिल गर्न शाखाहरुलाइ लक्ष्य दिइएको छ ।” खनालले भन्नुभयो ।
स्वास्थ्य शाखा स्वास्थ्य चौकी र नगर अस्पतालसँग र शिक्षा शाखा विद्यालयसँग कार्य सम्पादन सम्झौता गरिने खनालले उल्लेख गर्नु भयो । भौतिक निर्माण र कृषि तर्फ भने ८० प्रतिशतको लक्ष्य दिइएको छ । बर्दघाट नगरपालिकाको काममा चुस्त र दुरुस्त रुपमा गर्नेका लागी कार्य सम्पादन सम्झौता गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । ” प्रत्येक शाखालाई जिम्मेवारी पूर्ण बनाउन शाखागत कार्य सम्पादन सम्झौताले सहयोग गर्छ ।” नगर प्रमुख श्रेष्ठले भन्नु भयो ।
कार्य सम्पादन सम्झौताले शाखागत काम र सो कामको जवाफदेहिता बढ्ने श्रेष्ठको भनाइ छ । अहिले नगरले गरेको कार्य सम्पादन सम्झौता अनुसार प्रत्येक चौमासिकमा शाखागत रुपमा समीक्षा गरिने नगरले जनाएको छ। कार्य सम्पादन सम्झौतामा सेवा प्रवाह र पारदर्शिता लाई उच्च प्राथमिकता दिइएको छ ।
प्रतिक्रिया