१९ बैशाख, राप्ती उपत्यका (देउखुरी) । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले श्रमको सम्मान विना श्रमिकहरुको हक अधिकार स्थापित हुन नसक्ने जनाउनु भएको छ ।
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा देश विदेशमा रहनु भएका लुम्बिनी प्रदेशवासी सम्पूर्ण श्रमजीवि दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुहुदै उहांले रोजगारीको श्रृजना गर्नुको कुनै विकल्प नभएको उल्लेख गर्नु भएको छ । उहांले रोजगारी सुनिश्चितताको लागि अब केही पहल गर्नै पर्ने आवश्यकता औल्याउनु भएको छ ।
आज विहान जारी गर्नु भएको शुभकामना सन्देशमा सभामुख घर्ती मगरले आजको मुख्य चुनौती स्वदेशमा रोजगारीको श्रृजना र श्रमिक विदेश पलायनको रोकथाम नै भएको जनाउनु भएको छ । शिपयुक्त एवं प्राविधिक शिक्षा र कृषि, पर्यटन, उद्योगबाटै रोजगार तथा स्वरोजगार बन्ने वनाउने वातावरण श्रृजना गर्न उपलब्ध स्रोतहरुको उच्चतम् एवं दिगो प्रयोग गरी श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न सकिने उहांले जनाउनु भएको छ ।
“ एकातिर हरेक वर्ष श्रम बजारमा नवप्रवेशीहरुको संख्यामा बृद्धि भइरहेको छ भने अर्कोतिर विज्ञान प्रविधिको विकासले थोरै मानव संसाधनबाट धेरै काम सम्पन्न हुने अवस्था सृजना भएको छ । यसबाट श्रम बजारमा बेरोजगारहरुको संख्यामा अझ वृद्धि हुन सक्छ । रोजगारीको श्रृजना विना वेरोजगारी समस्या हल हुनै सक्दैन । तसर्थ रोजगारी सुनिश्चितताको लागि अब केही पहल गर्नै पर्छ ।” सभामुख घर्ती मगरले जारी गर्नु भएको शुभकामना सन्देशमा उल्लेख छ ।
जनयुद्ध, जनआन्दोलन, विभिन्न समयकालमा भएका क्रान्ति र संघर्षको माध्यमबाट अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै सभामुख घर्तीमगरले उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्नु भएको हो ।
लुम्विनी प्रदेश सभा श्रमिक वर्गको हक अधिकारको सवालमा कानुन निर्माणमा सचेत र प्रतिवद्ध रहेको जनाउनुुहुदै सभामुख घर्ती मगरले श्रमिक वर्गको अधिकार स्थापित गर्न र श्रम सम्वन्धी सम्पूर्ण समस्या हल गरी मजदुर मैत्री ऐन कानुन निर्माण गर्न प्रदेश सभा नेतृत्वका रुपमा यसका लागि सदैव तत्पर रहेको विश्वास दिलाउनु भएको छ ।
आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हक हितको प्रवद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकांगो शहरमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउदै आएको छ । नेपालमा आज १३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस “मर्यादित काम, श्रमिकको सम्मान हाम्रो अभियान” भन्ने मुल नाराका साथ मनाईदै छ ।
प्रतिक्रिया