सितमती हरिजन
११ बैशाख, सुस्ता । पटेरले बारेको एउटा सानो झुपडि घर, चुहिने टिनको छानो । न घाम ओत्ने न पानी ओत्ने । त्यहि झुपडिमा कष्टकर दिनहरु विताउँदै छिन् ७५ बर्षिया एक बृद्धा ।
रहर त थियो नी राम्रो चिटिक्क परेको घर होस । खान लाउन राम्रै संंग पुगोस तर रहर भन्दा कहर ठुलो भैदियो । झण्डै २० बर्ष भो उनले दुवै आँखा देख्न छोडेको । न घाम उदाएको देख्नु न अस्ताएको सधैको अँधयारो सन्सारमा छन् उनी ।
दृष्टिविहिन हुँदा पनि उनलाई साहरा दिने कोही छैन । पापी पेट भोकाई हाल्छ खाना पकाएर खानै पर्यो । घर भित्र बाहिर फोहोर हुन्छ सफा गर्नै पर्यो तर देखेर होईन केवल अनुभुतिकै आधारमा यी सबै काम गर्छीन् उनी ।
उनका दुःख पिडा न सुनाई सक्नु छ न सुनिसक्नु । उनी हुन् सुस्ता गाउँपालिका वडा नम्बर ३ रेवारेता की जयरामी चौधरी ।
कोही छैनन् भनौ भने साथमा ५० बर्षिया छोरा छन् । छोरा मोहन चौधरी सुस्त मनस्थीतीका भएकै कारण उनले छोराको सहयोग पाउन सकेकी छैनन् ।
उनले श्रीमान गुमाएको २९ बर्ष भैसकयो । आँखाको ज्योती गुमाएको २० बर्ष भैसक्यो । जुन बेला उपचार गर्नुपर्ने थियो । आर्थिक अभाव थियो उपचार भएन अहिले चाहेरपनि उपचार सम्भव छैन ।
बृद्ध भएका कारण नेपाल सरकारले उपलब्ध गराउने जेष्ठनागरिक भत्ताले जेन तेन खर्च चलाउँदै आए पनि त्यसले नपुग्ने तर आम्दानीको कुनै श्रोत नहुँदा निकै गाह्रो भएको उनले दुखेसो पोखीन् ।
भोकै बस्न त सकिन्न कसैले सहयोग गरिदिए हुन्थ्यो उनी भन्छिन् । सरकारको सहयोगमा दुईकोठे घर त बनेको छ तर अधुरै । भुँईमा ढलाई छैन गारोमा पलास्टर छैन । ढोकामा चुकुल छैन । निकै अफ्ठेरो छ उनी भन्छीन् ।
विपन्न तथा असाहयका लागि सरकारले विभिन्न योजनाहरु ल्याउने गर्दछ तर कुनै पनि योजनले जयरामीलाई छुन सकेको छैन । दुवै आँखाले नदेख्दा कस्टकर जीवन विताईरहेकी उनको बारेमा स्थानिय सरकार पनि बेखबर जस्तै छ । चुनावका लागि उनको भोट चल्छ तर यो पिडामा कुनै नेताको मन जल्दैन । कसैले सहयोग गरिदिए केही न केही सहज हुन्छ की भन्ने आसमा छन् जयरामी ।
प्रतिक्रिया