नवलपरासी: ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा सरावल गाउँपालिकामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । पालिकाले भगवान गौतम बुद्ध सँग इतिहास जोडिएको करपत्त नगरमा सरसफाइ गरेको हो ।
गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि कामदारहरू सँगै पालिकाका जनप्रतिनिधि, कर्मचारी सँगै सामाजिक क्षेत्रमा क्रियाशील ब्यक्तिहरू, शिक्षक तथा स्थानीयवासीको ब्यापक सहभागिता रहेको थियो ।
सरसफाइ कार्यक्रममा बोल्दै पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले सार्वजनिक स्थल तथा मठ मन्दिरहरू सधैँ सफा राख्नुपर्ने बताउनुभएको थियो । सरावल गाउँपालिकाले साङ्केतिक रुपमा प्रजातन्त्र दिवसको अवसर पारेर सरसफाइ कार्यक्रम आयोजना गरिएपनि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने बताउनुभएको थियो ।
पालिका उपाध्यक्ष बासमती हरिजनले सरावल गाउँपालिका ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबले राम्रो सम्भावना बोकेको पालिका रहेकोले पालिकाको सुन्दरता र सरसफाइ महत्वपूर्ण पक्ष रहेको बताउनुभयो ।
सरसफाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा, लेखा अधिकृत नारायण पाण्डे, योजना प्रमुख ईश्वरी प्रसाद खनाल, रोजगार शाखा प्रमुख नेत्र नारायण भण्डारी, स्वास्थ्य शाखा प्रमुख ओम नारायण देवकोटा, शिक्षा शाखा प्रमुख प्रेमबहादुर थापा, योजना शाखा प्रमुख राजन बस्याल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया