१८ असोज, नवलपरासी: पूर्व मन्त्री हृदयेश त्रिपाठीले सहकारीलाई कालो धन सेतो बनाउने मेसिनको रुपमा प्रयोग गर्दा अहिलेको समस्या आएको बताउनुभएको छ । पश्चिम नवलपरासीको गोपिगञ्जमा ग्रामीण बाल्मिकी साकोसको बाल्मिकी सेवा केन्द्रको ३१ औँ वार्षिक साधारणभामा बोल्दै सहकारीमा जानाजान कालो धन थुपारिएको बताउनुभएको हो ।
अहिले सहकारीको ठगी लाखौँ करोडौँमा नभएर अरबौँमा भएको बताउँदै उहाँले बैँकमा बचत गर्नका लागि श्रोतको खोजी हुने तर सहकारीमा श्रोत खुलाउन नपर्ने भएका कारण कालो धन सहकारीमा जम्मा हुने गरेको बताउनुभयो । सहकारीमा देखिएका समस्या समाधानका लागि न्यायिक छानविन आयोग गठन गर्नुपर्ने उहाँको भनाई छ ।
सहकारी घोटालामा राजनैतिक दलकै उच्च ब्यक्तिहरू संलग्न रहेको प्रति सङ्केत गर्दै त्रिपाठीले समितिले सहिरुपमा बचतकर्तालाई न्याय दिनेमा शङ्का रहेको बताउनुभयो । विभिन्न बाहना बनाएर सकारीको समस्याको समाधान नगरिए लाखौँ मानिसहरू आत्महत्या गर्न बाध्य हुने त्रिपाठीको भनाई छ ।
त्रिपाठीले अहिले नेपालको पुँजी डरलाग्दो रुपमा विदेश पलायन भैरहेको बताउनुभयो । विदेशी भूमिका कम्पनी खडा गर्ने र कम मूल्यका सामानलाई बढि मूल्य देखाएर नेपाल पठाई बैकको एल सी मार्फत पुँजी पलायन भैरहेको उहाँले बताउनुभयो ।
साधारणसभा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले सहकारीहरुले महिलाहरूमा सीप विकास र उद्यमशीलताका तालीम सञ्चालन गरे उद्यमी महिलाले उत्पादन गरेका बस्तुको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले तालिमका लागि पनि गाउँपालिकाको सहयोग रहने बताउनुभयो ।
देशमा सहकारी प्रति वितृष्णा बढिरहेको समयमा ग्रामीण बाल्मिकी साकोसले सदस्यहरूको मन जितेर कार्य गरिरहेको उल्लेख गर्दै यादवले सहकारीहरू उत्पादनशिल क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । सहकारीले कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि काम गर्न आवश्यक रहेको धारणा यादवले ब्यक्त गर्नुभयो । उहाँले सरकारले नितिगत रुपमै गलत निर्णय गर्ने गरेका कारण सास्ती खेप्नुपरेको बताउनुभएको थियो ।
साधारणसभामा प्रस्तुत भएका प्रतिवेदन, नीति तथा कार्यक्रम सँगै सम्पूर्ण प्रस्तावहरू पारित भएका छन् । सभामा संस्थाका सल्लाहकारहरू देवी प्रसाद अधिकारी, गणेश पोखरेल, पूर्व सल्लाहकार मोतिलाल ढकाल, शालिकराम घिमिरे, निमानन्द न्यौपानेले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता, बाल्मिकी सेवाकेन्द्रका ब्यवस्थापन समिति सदस्य राम प्रसाद भट्टराईको स्वागत मन्तब्य र सहसचिव कृष्ण प्रसाद गौतमको संचालमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको अवसरमा विभिन्न विधामा शेयरसदस्यहरुलाइ सम्मान गरिएको थियो ।
प्रतिक्रिया