नवलपरासी: प्रेस सेन्टर नेपाल पश्चिम नवलपरासीको अध्यक्षमा विष्णु खनाल निर्वाचित हुनुभएको छ । शनिबार सेन्टरको दोस्रो अधिवेशनबाट यसअघि सचिव रहनुभएकी खनाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
दोस्रो अधिवेशनबाट उपाध्यक्षमा रामकरण हरिजन, सचिवमा पिपला अस्लामी मगर, कोषाध्यक्षमा सितमति चमार, सहसचिव मिम बहादुर सुनार र मनोज परियार, सदस्यहरूमा सम्झना पौडेल सुवेदी, मोहन सापकोटा, रचना चौधरी, राजकुमार हरिजन, अमृता पन्थी निर्वाचित हुनुभएको छ ।
अधिवेशन समारोहलाई सम्बोधन गर्दै सेन्टरका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नारायण भण्डारीले सेन्टरमा आवद्ध भएकाहरूले निष्पक्ष र आचार संहिता सहितको पत्रकारिता गर्दै आइरहेको बताउँदै आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।
केन्द्रीय सदस्य गोपी ज्ञवालीले सङ्गठनलाई चुस्त बनाउन सम्बद्ध सबै पक्षको सहकार्यको आवश्यकता रहने बताउनु भयो । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार डा. घनश्याम परिश्रमीले पत्रकारिता तालिमको माध्यमबाट सक्षम पत्रकारहरू उत्पादन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले क्षमतावान पत्रकारले पत्रकारिताको धर्म समेत निभाउन सक्ने र त्यसैको माध्यमबाट आय आर्जन समेत गर्न सक्ने बताउनु भयो ।
माओवादी केन्द्रका पश्चिम नवलपरासी संयोजक रामानन्द यादवले पार्टीका गतिविधिहरूलाई समेत सञ्चार माध्यमहरूमा समेट्नुपर्ने बताउनु भयो । माओवादी केन्द्रका बर्दघाट नगर अध्यक्ष तेजेन्द्र पुर्जाले सबल पत्रकारिताको लागि सबै पक्षको सहकार्य आवश्यक रहने बताउनु भयो ।
प्रतिक्रिया