१८ असोज, नवलपरासी
बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन शक्तिपीठमा माता भगवती ब्रह्माचारिणीको विशेष पूजाआजा गरिँदै छ । ब्रह्माचारिणी देवीलाई ब्रह्मा विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।
ब्रह्माचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैँ पूर्णिमा सम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । आज राजधानी काठमाडौँका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, बिजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरूको बिहानैदेखि भीड लागेको छ ।
काठमाण्डु बाहिरका दुर्गा शक्तिपीठहरूमा पनि बिहानै देखी भक्तजनहरूको उपस्थिति बाक्लिएको छ । नवलपरासीको दाउन्ने देवी मन्दिरमा पनि भक्तजनहरूको भिड लागेको छ । दाउन्नेदेवीमा वर्षभर नै देश तथा छिमेकी देश भारतका विभिन्न ठाउँहरूबाट भक्तजनहरू आउने गरे पनि बडादसैँको समयमा विशेष भिडभाड हुने गर्दछ ।
प्रतिक्रिया