नवलपरासी : बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सामुदायिक बन उपभोक्ता समुहहरूले स्थानीय बन ऐनलाई सहज रुपमा लिनुपर्ने बताउनुभएको छ । बर्दघाट प्रेस क्लबले आयोजना गरेको बन एक अवसर अनेक विषयक सम्वाद गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले सामुदायिक बनले प्रदेश र स्थानीय बन ऐनलाई सहज रुपमा लिएर अवसरको रुपमा उपयोग गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले सामुदायिक वनहरूलाई सहयोग गर्न नगरपालिका तयार रहेको समेत उल्लेख गर्नुभयो । जल, जङ्गल र जमिनको संरक्षण गर्नु सबैको दायित्व रहेको उहाँको भनाई रहेको थियो ।
बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माखर ढकालको अध्यक्षता र नगरप्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, वडाध्यक्षहरू, बर्दघाट सरावल सव डिभिजन कार्यलयका प्रतिनिधि, वन तथा पर्यावरण गण नागपोखरीका प्रमुख हरि बहादुर राई, सामुदायिक वन उपभोक्ता महासङ्घ र वैज्ञानिक वन उपभोक्ता महासङ्घ जिल्ला अध्यक्ष, बर्दघाट नगरका सामुदायिक वन समुहका पदाधिकारी तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
बर्दघाट प्रेस क्लबका सदस्य मुक्तिनाथ तिवारीको स्वागत मन्तव्य र सचिव प्रकाश न्यौपानेको सञ्चालन रहेको कार्यक्रममा वन, वातावरण तथा पर्यावरण विज्ञ एवं पत्रकार युवराज कँडेलले सहजिकरण गर्नु भएको थियो । सहजकर्ता कँडेलको अनुसन्धान अनुसार डिभिजन वन कार्यालय नवलपरासीको २०७९/०८० को प्रतिवेदनमा बर्दघाट नगरपालिकामा ३ हजार ६ सय ९५ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको छ र जसमा १८ हजार ३ सय ८८ घरधुरी संलग्न रहेको जानकारी गराउनु भएको थियो ।
बर्दघाट नगरबाट १९ वटा सामुदायिक वनले जिल्लामा दर्ता गरेर काम गरेको तथ्याङ्कमा उल्लेख रहेको जानकारी गराउनु भएको थियो । अब वनमा रूख काटेर आम्दानी गर्न तर्फ भन्दा पनि वनका प्रवेश गर्दा टिकट काटेर मनोरञ्जन लिने गरी काम गर्न जरुरी रहेको सहजकर्ता कँडेलको धारणा रहेको थियो ।
प्रतिक्रिया