नवलपरासी: बर्दघाट ४ बाढीपीडितको नवजीवन माध्यामिक विद्यालयमा अभिभावक अभिमुखीकरण तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले अभिभावकहरूलाई लक्षित गरेर कार्यक्रम आयोजना गरेको थियो ।
असल अभिभावक भए मात्र असल बालबालिका बन्ने भएकोले अभिभावको कर्तव्य, दायित्व र घरमा बालबालिकाका लागि अनुकुल वातावरण सिर्जना गर्न विद्यालयले कार्यक्रम आयोजना गरेको शिक्षक विजय रत्न पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा बृत्तमार्ग भैरहवा तालिम केन्द्रका सहजकर्ता सुशीला पौडेल र न्युज कुराका प्रबन्ध निर्देशक नारायण भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा ४० जना अभिभावकहरूको सहभागिता रहेको थियो । सहभागि अभिभावकहरूले बालबालिकाहरूलाई स्कुलमा मात्र सुधार गर्न सकिन्छ भन्ने मान्यता सही नभएर अभिभावकको सबैभन्दा महत्वपूर्ण भूमिका हुने कुरा महसुस गरेको धारणा व्यक्त गर्नुभएको थियो । विद्यालयले समय समयमा यस्ता खालका कार्यक्रम आयोजना गर्नुपर्ने र आगामी दिनमा विद्यार्थी, अभिभावक र शिक्षक बिचको संयुक्त कार्यक्रम सञ्चालन गर्नका लागि अभिभावकहरूको आग्रह रहेको थियो ।
नवजीवन माध्यामिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । विद्यालय प्रति अभिभावकहरूको चासो बढाउने र शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाटै अपेक्षित नतिजा प्राप्त गर्न सकिने निष्कर्ष निकाल्दै सोही अनुसारका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया