नवलपरासी : बर्दघाट १० मा रहेको ग्लोबल एकेडेमीले १६ औँ वार्षिकोत्सवको अवसर पारेर एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । एकेडेमीले सामाजिक उत्तरदायित्व अन्तरगत माघ १९ गते शिविरको आयोजना गरेको स्वास्थ्य शिविर संयोजक इन्द्र ढकालले बताउनुभयो । स्वास्थ्य शिविर सँगै वार्षिकोत्सवको अवसरमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिन एकेडेमीले विहीबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सकाे प्राविधिक सहयोगमा नाक, कान, घाँटी सम्बन्धी रोग, आँखा, दाँत सम्बन्धी रोग र महिलामा देखिने रोगहरूको परिक्षण शिविर सञ्चालन गरिने संयोजक ढकालको भनाई छ । शिविरमा स्वास्थ्य परिक्षण गर्नका लागि विशेषज्ञ डक्टरहरूको टिम आउने र निशुल्क औषधीको पनि ब्यवस्था गरिएको छ । विद्यालय परिसरमै शिविर सञ्चालन हुने भएकोले स्वास्थ्य परिक्षण गराउन चाहनेहरूले निर्धक्क भएर आउन ढकालले आग्रह गर्नुभयो । प्रयोगशालामा परिक्षण गर्नुपर्ने भए नमुना सङ्कलन गरी मेडिकल कलेजमा लगेर परिक्षण गरी निशुल्क रूपमै रिपोर्ट उपलब्ध गराउने र शिविरमा स्वास्थ्य परिक्षण पश्चात थप उपचार गर्नुपर्ने बिरामीका लागि निशुल्क यातायतको व्यवस्था गरी उपचारमा लाग्ने शुल्कमा २० प्रतिशत छुटको व्यवस्था गरिएको बताईएको छ ।
ग्लोबल एकेडेमीका अध्यक्ष हरि अधिकारीले निजी संस्थाहरू खाली नाफामुखी हुन्छन् सामाजिक दायित्वमा चासो दिँदैनन् भन्ने बुझाईलाई चिर्दै झण्डै ७ देखी १० लाख खर्च विद्यालयले गर्ने गरी शिविर आयोजना गरिएको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल मणि शर्माले वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य शिविर सँगै २० गते बाट खेलकुद सप्ताह, शिक्षक सम्मान, विद्यार्थी सम्मान, समुदायमा रहेका ब्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिँदै शर्माले २४ गते हुने वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूको हस्तकला प्रदर्शनी विविध सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत हुने बताउनुभयो । वार्षिकोत्सवको अवसरमा अग्रिम भर्ना हुने विद्यार्थीहरूका लागि विद्यालयले चैत्र सम्मको शुल्क र यातायात निशुल्क गरिने बताईएको छ ।
प्रतिक्रिया