काठमाण्डौ: लोक गायक भरत बहादुर पौडेल क्षेत्रीमाथी भएको हिमालयन बैङ्कको गुण्डागर्दी शैलिको दुर्व्यवहार प्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले खेद प्रकट गरेको छ ।
मङ्गलबार नवलपरासीको भुमही स्थित घरबाट बुटवल जाने क्रममा रूपन्देहीको खैरेनीमा अपरिचित व्यक्तिहरूले गाडी रोकेर डर धम्की देखाउँदै गाडीको चाबी खोसेका थिए । चाबी खोस्ने व्यक्ति हिमालयन बैङ्कले खटाएका व्यक्तिरहेकाे पुष्टि भएको थियो ।
प्रतिष्ठानले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल नवलपरासीका निवर्तमान अध्यक्ष क्षेत्रीलाई गुण्डागर्दी शैलीमा ब्लु बुक र चाबी खोस्ने, धम्क्याउने जस्तो अभद्र व्यवहार गरेकोमा खेद प्रकट गर्दै दोषीलाई कारबाहीको माग गरेको हो । राष्ट्रिय अध्यक्ष रिता थापा र महासचिव शिव हमाल द्धारा जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गर्न माग गरिएको छ ।
गायक क्षेत्रीले प्रभु बैङ्कबाट लोन लिएर गाडी लिएका थिए । प्रभु बैङ्कको नाममा रहेको गाडी हिमालयन बैङ्कको नाममा रहेको भन्दै रामेछापका सञ्जीव लामा सहितका दुईजना ब्यक्तिले गुडिरहेको गाडी रोकेर गुण्डागर्दी शैलीमै धम्याउने र चाबी खोस्ने कार्य गरेका थिए ।
हिमालयन बैङ्कले घटनालाई सामान्य बताउँदै बैङ्कको तर्फबाट सामान्य त्रुटि भएको बताएको छ । घटनामा संलग्न ब्यक्तिलाई इलाका प्रहरी कार्यालय देवदहले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएपछि बैङ्कका उच्च अधिकारीले गायक क्षेत्रीलाई सामान्य घटना भएको भन्दै सामान्य मिलापत्रमा टुङ्ग्याउन दबाब दिँदै आए पनि क्षेत्रीले कानुनी उपचारमै आफ्नो अन्तिम अडान रहेको बताउँदै आएका छन् ।
प्रतिक्रिया