+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुरेश रमण अधिकारीः मौलिक सिर्जनाका धनी गायक

जसका गीतले छोएको छ हरेक मन

वासुदेव पोखरेल
२०८१ माघ २, बुधबार

पोखरामा जन्मिएका गायक तथा सर्जक सुरेश रमण अधिकारीको नाम अहिले गीत – संगीतको दुनियाँमा परिचित हुँदै गएको छ । उहाँका चर्चित गीतहरूमा “बाइ बाइ माया”, “औंशीया”, “किन अन्धो भइन म”, “बाल्यपन”, र “कठै पिरती” जस्ता उत्कृष्ट रचनाहरू समावेश छन् । यी गीतले श्रोताको मन जिते पनि सुरेश रमण अधिकारीको नाम भने अझै त्यति चर्चामा आउन सकेको छैन ।

सुरेश रमण अधिकारीका गीतहरूमा मौलिकता र भावनाको गहिराइ पाइन्छ । उहाँका सिर्जना केवल शब्द र सङ्गीतको मिश्रण मात्र होइन ती प्रत्येक गीतमा उनको आफ्नै कथा र अनुभव झल्किन्छ । उहाँ भन्नुहुन्छ “मैले आफ्नो आँसुलाई नै गीत बनाई लेख्ने गर्छु ।” यो भावनात्मक अभिव्यक्तिले उनका गीतहरूमा विशेष गहिराइ थपेको छ ।

अहिलेको सामाजिक सञ्जालको युगमा अधिकांश गायक – गायिकाहरू भाइरलको पछि लाग्ने होडमा छन् । यस विपरीत, सुरेश रमण अधिकारी आफ्नो मौलिकतालाई जोगाउँदै निरन्तर सिर्जनामा लागिरहेका छन् । उहाँ भन्नुहुन्छ “मलाई भाइरल हुनु भन्दा श्रोतालाई लामो समयसम्म सम्झनामा बस्ने गीतहरू दिनु नै मुख्य हो ।”

उहाँका गीतहरूले जति चर्चा बटुल्छन्, त्यति नै उहाँका स्रोता र प्रशंसकको सङ्ख्या पनि बढ्दै गएको छ । यद्यपि, मिडियामा उहाँ धेरै कम देखा पर्नुहुन्छ । “मिडियामा नआउँदा पनि मेरो गीत श्रोतामाझ पुगेको छ भने त्यो नै मेरो सफलता हो ।” सुरेश रमण अधिकारी बताउनुहुन्छ ।

सङ्गीतको यो यात्रा सुरेश रमण अधिकारीका लागि सजिलो भने छैन । तर उहाँको मखमली आवाज, मौलिक सिर्जना र सन्देशमूलक गीतहरूले उहाँलाई यो क्षेत्रमा फरक पहिचान दिलाइरहेको छ । नेपाली गीतसङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेका अधिकारी निरन्तर नयाँ रचनामा व्यस्त हुनुहुन्छ ।

सुरेश रमणको लय/शब्दमा र सुरेश रमण र रमा गौतमको आवाजमा मौलिक झ्याउरे गीत “सानै छु भेना” सुरेश रमणको लय/शब्द र सुरेश रमण तथा शान्तिश्री परियारको आवाजमा “सिन्दुरको गरिमा” सुरेश रमणको लय/शब्द र सुरेश रमण तथा लक्ष्मी दाहालको आवाजमा “टुट्यो पिरती” सुरेश रमणको लय/शब्द र सुरेश रमण, धर्मराज पोखरेल र सुनिता बुढाको आवाजमा “हाँसेर नटार” गणेश अधिकारीको लय तथा दीपक कँडेलको शब्द र सुरेश रमणको एकल आवाजमा “आमा” र सुरेश रमणको लय/शब्द तथा सुरेश खत्रीको शब्दमा सुरेश रमणकै एकल आवाजमा “ए आमा” लगायतका सिर्जनाहरू बजारमा ल्याउने तयारीमा हुनुहुन्छ ।

यसरी आफ्नो मौलिकतालाई जीवन्त राख्दै नेपाली संगीतमा योगदान पुर्याइरहेका सुरेश रमण अधिकारी वास्तवमै प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । श्रोताहरूको माया र समर्थनले उहाँको यात्रा अझ अगाडि बढोस् भन्ने शुभकामना !

 

प्रतिक्रिया

लेखकको बारेमा

वासुदेव पोखरेल

ट्रेन्डिङ