नवलपरासी: पश्चिम नवलपरासीमा एक शिक्षिकाले आफ्नै विद्यार्थीको आँखा फुटाइदिएको घटना बाहिरिएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ स्थित एच पाठशालामा यूकेजीमा अध्ययनरत ६ वर्षीय बालक प्रशान्त चौधरीको शिक्षिकाको कुटाई बाट आँखा फुटेको बताईएको छ ।
शिक्षिकाको पिटाइबाट बालकको आँखामा गम्भिर चोट लागेको र आँखाको ज्योति गुमेको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । उजुरी अनुसार घटना गत मंसिर १८ गतेको भए पनि पीडित बालकका परिवारले बालबालिकाको क्षेत्रमा कार्यरत सिविन नेपाललाई गुहारेपछि बल्ल घटना बाहिरिएको हो ।
शिक्षिकाको कुटाईबाट घाईते भएका बालकको उपचार तथा क्षतिपूर्तिको विषयमा विद्यालयले चासो नदेखाएपछि नेपाल प्रहरी, सिविन नेपाल, राष्ट्रिय मानव अधिकार आयोग लगायतका निकायलाई गुहार्नुपरेको बालकका बुबा नरेन्द्र चौधरीले बताउनुभयो ।
उहाँका अनुसार कक्षामा पढाउने क्रममा लट्ठीले पिट्दा बालकको देब्रे आँखा फुटेको छ । बालकलाई तत्कालै उपचारका लागि काठमाडौँ लगिएकोमा चिकित्सकले आँखा फुटेको बताएको आयोगमा दिइएको उजुरीमा उल्लेख छ ।
घटनापछि इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिएपनि कुनै कारवाही प्रक्रिया अगाडि नबढेको उहाँले गुनासो गर्नुभयो । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख हरिप्रसाद ज्ञवालीले उजुरी प्राप्त भए लगत्तै सम्बन्धित निकायमा बुझ्ने र आवश्यक अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले घटनामा संलग्न माथि कारवाहीका लागि मुद्दा दर्ता भई आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान कार्य अघि बढिसकेको जानकारी दिनुभयो ।
प्रतिक्रिया