नवलपरासी: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका किसानहरूले सरकार गम्भिर नभएको गुनासो गरेका छन् । बर्दघाट उद्योग वाणिज्य सङ्घको आयोजना र बर्दघाट प्रेस क्लबको समन्वयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै किसानहरू उपेक्षितमा परेको बताएका हुन् ।
आचार्य पशुपक्षी फर्मका सञ्चालक पद्मपाणि आचार्यले दूधको बिक्री पश्चात पनि रकम भुक्तानी नपाएको कारणले पशुपालनबाट किसानहरू पलायन हुने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय सरकारले किसानलाई केन्द्रमा राखी नीति ल्याउन नसकेको गुनासो गर्नुभयो । दूध उत्पादक किसानलाई दिँदै आएको अनुदान किन काटेको ? एउटा पशु पाल्ने र २० वटा पशु पाल्ने किसानलाई एउटै व्यवहार गर्ने र नगरले दूधको भुक्तानीमा कुनै पनि पहल किन नगरेको ? उहाँको प्रश्न थियो ।
सृजना कृषि फार्मका सञ्चालक कृष्ण प्रसाद चापागाइँ, सापकोटा कृषि एण्ड पशु फर्मका सञ्चालक झविन्द्र सापकोटा र नमूना एकीकृत कृषिफर्मका सञ्चालक नमुना घिमिरेले नगरले वितरण बर्सिम घाँसको बिउ खराब परेकाले घाँस उत्पादन नहुँदा गाई भैसीलाई के खुवाउने हो भन्ने चिन्ताले सताएको पीडा पोख्नु भयो । नगरले दिएको बिउ राम्रो हुन्छ भन्दै ल्याएर खेतमा लगायौँ । अहिले मुला जस्तो घाँस उम्रियो । जुन बर्सिम पनि होईन । त्यसपछि बजारबाट बर्सिम किनेर ल्याएको पनि उक्त झारले उम्रिन दिएन। खेतमा त्यही झार छ । हामीले पशुलाई के खुवाउने ? यसको क्षतिपूर्ति हामीलाई कसले दिने ? प्रश्न गर्दै भन्नुभयो । सोझा किसान सबैलाई ठग्ने रहेछन् ।
हमाल पशुफर्मका सञ्चालक लक्ष्मण जङ्ग हमाल, ढुङ्गाना फर्मका सञ्चालक खेम नारायण ढुङ्गाना र भट्टराई कृषि फर्मका सञ्चालक भवानी शङ्कर भट्टराईले कुनै पनि सरकार सँग कृषकको प्रष्ट तथ्याङ्क नभएको गुनासो गर्नुभयो । स्थानीय प्रदेश र सङ्घ सरकारले हचुवाको भरमा कार्यक्रम ल्याउने अनुदानका सामाग्रीहरू वितरण गर्ने र त्यसको प्रतिफल नहेर्दा कृषि क्षेत्रमा गरिएको लगानी बालुवामा पानी सरह भएको धारणा राख्नुभयो । न्यौपाने कृषि फर्मका सञ्चालक तेजलाल न्यौपाने र कृषक सञ्जालका नगर अध्यक्ष देवि प्रसाद बस्यालले नगरले कृषकका समस्या सुन्ने तर समाधान तर्फ कहिल्यै ध्यान नदिने गरेको बताउनुभयो । नगरमा छलफल गर्न बोलाऊने, छलफल गर्ने, छलफलमा विऊ वितरण, मल, छाडा चौपाया लगायतका विषयहरु धेरै पटक उठान भए तर अहिले सम्म पनि समस्या ज्यूकात्यू छन । कति गुनासो गर्ने ? कसलाई र किन गर्ने? किसानका समस्या कस्ले सुन्ने ? कार्यक्रममा रहञ्जेल सुन्ने अनि उडाऊने यस्तै गरेको बर्षौ भयो भन्दै गुनासो गर्नु भएको थियो ।
दाउन्ने मिश्रीत तरकारी बालीका अध्यक्ष सावित्री तिवारी, कृषक चन बहादुर गाहाले सरकारले किसानलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरिरहेको बताऊनु भयो । नगरले पकेट क्षेत्र घोषणा गर्यो तर बिउ माग्दा छैन । मल छैन । सिँचाई छैन । मोटर छैन । केवल कृषकलाई भुलाऊने कृषिका कुरा मात्रै छन । यता राजेन्द्र सुनार, सुवास जिसी, बलराम भण्डारी, नारायणदत्त घिमिरे, गिरिराज गिरी लगायतले बोल्दै कृषि क्षेत्र पालिकाको प्राथमिकतामा नपेरेको बताऊनु भयो । सबैलाई पाल्ने कृषकले हो। कृषक नै उत्पादन गर्ने सवालमा सबै सरोकारवाला मौन छन । कृषि क्षेत्रमा लाग्ने युवा खै? प्रश्न गर्दैैै भन्नुभयो, “कृषि लाई सम्मानित पेशा बनाई कृषक उत्पादनमा लाग्नुपर्छ । होईन भने नेपालीले विदेश गएर कृषि गर्ने तर स्वदेशमा कृषि नगर्ने परिस्थितिले प्रशय पाउनेछ ।”
बर्दघाट नगरपालिका वडा नं. ५ कि वडाअध्यक्ष विमला गुरुङ्ग, वडा नं.७ का वडाअध्यक्ष धु्रव थारु, वडा नं.८का वडाअध्यक्ष कविराज आचार्य र नगरउपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले कृषि क्षेत्रका समस्या समाधानका लागि प्रयत्नशिल रहेको बताऊनुभयो ।
नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापति दामोदर जिसि, नेकपा एमालेका नगर सचिब चोलाकान्त भट्टराई, राष्ट्रिय प्रजाटन्त पार्टीका अध्यक्ष प्रकाश रायमाझी लगायतले बोल्दै नगरले कृषि निति ल्याउनु पर्ने मा जोड दिनु भयो । कृषकहरुको वर्गीकरण, तथ्याङ्क संकलन र उत्पादनका आधारमा अनुदान र अनुदान दिएको सामाग्रीहरुको अनुगमनमा जोड दिनु भयो । नगरले पकेट क्षेत्र घोषणा मात्रै गर्ने तर बीउ बिजन, प्राबिधिक सरसल्लाह र सहयोग नगर्ने गर्दा किसानहरू पिडामा परेको उहाहरुको भनाइ थियो ।
नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरमा बजारी करणको केहि समस्या रहेको उल्लेख गर्दै बन्द भएको कृषि उपजकेन्द्र कानुनी रुपमा मिलाई सञ्चालनको तयारीमा रहेको उल्लेख गर्नुभयो । उपाध्यायले घाँसको बिउ वितरणमा गल्ती भएको स्विकार गर्दैै टेण्डरको आधारमा कम मुल्यलाई स्विकृत गर्नुपर्ने, कम मुल्य राख्नेले नक्कली बिउ दिएकोले किसानहरू मर्कामा परेको बताऊनुभयो ।
बर्दघाटका किसानहरुको करिब ३ घण्टासम्म गुनासो सुनिरहेका निवर्तमान नगरप्रमुख धीरज शर्मा बस्यालले बर्दघाटमा बजारीकरणको समस्या रहेको बताऊनु भयो । उहाँले कृषकद्वारा उत्पादित बस्तुहरुको संकलन केन्द्र स्थापन गरि पालिकाहरुको समन्वयमा बजारीकरण गर्न सकिने धारणा राख्नुभयो । कृषक सम्मान र कृषकको आयमा बृद्धि गराऊन सके कृषि पेशामा आर्कषण ल्याउन सकिने बस्यालको भनाई थियो ।
प्रतिक्रिया