९ मंसिर, नवलपरासी: नवलपुरमा व्यवसायीक रुपमा माछापालन गरेका किसानहरूले ३ करोड बढिको क्षति बेहोरेका छन् । जिल्लाको नारायणी नदि तटीय क्षेत्रमा पोखरी बनाएर माछापालन गर्दै आईरहेका किसानहरूको पोखरीमा बाढीले क्षति पु¥याएको हो ।
गत असोज ११ र १२ गते आएको बाढीले कावासोती नगरपालिकाको वडा नम्बर १५, १७ मध्यबिन्दु नगरपालिकाको वडा नम्बर २, ३ लगायतका क्षेत्रका पोखरीमा क्षति पुगेको हो ।
बाढीले माछा बगाउँदा ३ करोड बढिको क्षति भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नवलपुरका कार्यालय प्रमुख डा. शर्मिला कुमालले जानकारी दिनुभयो ।
कावासोती १७ का परमेश्वर महतोले १ बिगाहा क्षेत्रफलमा पोखरी बनाएर माछापालन गर्दै आइरहेकोमा दुई वर्ष देखी पाल्दै आएको ६० क्विन्टल बढि माछा बाढिले बगाएको बताउनुभएको छ । वडा नम्बर १५ लाखको क्षति भएको बताउनुभयो ।
नारायणी नदि तटीय क्षेत्रमा पोखरी बनाउँदा पानीको समस्या नहुने र माछा उत्पादन पनि राम्रो हुने भएकाले किसानहरू त्यस तर्फ आकर्षित हुँदै गएका छन् । माछापालनबाट समय समयमा राम्रै आम्दानी हुने भएपनि वर्षाको समयमा नारायणीमा आउने बाढी पोखरीमा पस्दा किसानले क्षति बेहोर्नु परेको छ ।
कतिपय किसानहरुले बिमा गरेको भए पनि सबै किसानहरूले बिमा गरेका छैनन् । बिमा गरे नगरेका सबै किसानहरूलाई क्षतिको आधारमा धेरै थोरै क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने नवलपुर मत्स्य व्यवसायी सङ्घका अध्यक्ष इन्द्रमणि भुसालले बताउनुभयो ।
क्षति बेहोर्नुपरेका किसानहरूको विवरण सङ्कलन गरेर प्रदेश सरकार मत्स्य विकास निर्देशनालयमा पठाइसकिएको र छिट्टै राहत रकम उपलब्ध गराइने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताउनुभयो । राहत रकमले पोखरीमा माछाका भुरा हाल्न र भत्किएका संरचना बनाउन सहयोग पुग्ने कुमालको भनाई छ ।
नवलपुर जिल्ला माछाका लागि आत्मनिर्भर भैसकेको जिल्ला हो । यहाँ उत्पादन भएका माछाहरू जिल्ला बाहिर चितवन, काठमाण्डौ , बुटवल लगायतका बजारहरूमा समेत पुग्ने गरेको छ ।
जिल्लामा व्यवसायी रुपमा माछापालन गर्ने किसानहरूको सङ्ख्या २ सय बढि रहेको छ । १ सय ४२ हेक्टर क्षेत्रफलमा माछापोखरी रहेकोमा वार्षिक रुपमा ९ सय ९४ मेट्रिकटन माछा उत्पादन हुनेगरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नवलपुरका मत्स्य विकास अधिकृत सन्दीप लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया