नवलपरासीः किशोर किशोरीहरूको यौन तथा प्रजन स्वास्थ्यको अधिकार, देखापर्ने समस्या र चुनौतीहरूको पत्रकारिता मार्फत उजागर गर्नका लागि लुम्बिनीमा ३ दिने कार्यशाला गरिएको छ । लुम्बिनी प्रदेशका तिन जिल्ला कपिलवस्तु, रूपन्देही र नवलपरासी (ब.सु.प ) का पत्रकारहरूको सहभागितामा कार्यशाला भएको हो ।
एम्लिफाई चेन्जको आर्थिक सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुले कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका ३३ पालिकामा ३० महिना सम्म सञ्चालनमा आएको परियोजना बारे जानकारी दिन कार्यशाला आयोजना गरेको थियो । कार्यशालामा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ मा भएका व्यवस्थाहरू, ऐन कार्यान्वयनको अवस्था र चुनौती, लैङ्गिक हिंसा, बालविवाह, किशोर किशोरी र युवामैत्री सेवा, सुरक्षित सुत्केरी सेवा, गर्भ परीक्षण, गर्भपतनका कानुनी व्यवस्था, दाइजो, बहुविवाह, प्रजनन स्वास्थ्य अधिकारका सवाल र सम्बोधनका उपाय, सञ्चार क्षेत्रले प्रजनन स्वास्थ्य अधिकारको विषय उठान गर्न खेल्नुपर्ने भूमिकाबारेमा गहन छलफल तथा सहजीकरण भएको थियो ।
विशेषगरी परियोजनाले गर्ने कामहरूलाई प्रभावकारी बनाउन र लक्षित उपलब्धि हासिल गर्नका लागि आम सञ्चारको महत्वपूर्ण भूमिका हुने भएकोले परियोजना कार्यान्वयनको प्रारम्भिक चरणमा पत्रकारहरूका लागि सहजीकरण गरिएको किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभियानको सबलीकरण (समसारा) परियोजनाका टिम लिडर अभिनव चौधरीले बताउनुभयो ।
सहजकर्ता लैङ्गिक विज्ञ तथा सञ्चारकर्मी रिमा बीसी, अधिवक्ता गोमती सुनार (दिपा) ले कार्यशालाको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा कपिलवस्तु संयोजक अनिल घर्ती, नवलपरासी संयोजक दिलु श्रेष्ठले आआफ्ना जिल्लामा सञ्चालित परियोजनाका कार्यक्रम बारे जानकारी प्रस्तुत गर्नुभएको थियो । कालिकाका कार्यक्रम संयोजक निशान्त कुँवरले संस्थाले सञ्चालन गरिरहेका कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।
परियोजनाका संयोजक चौधरीले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ को कार्यान्वयनको वातावरण निर्माण, सरोकारवालाको सशक्तीकरण, युवामैत्री वातावरणका लागि वकालत, मुद्दामा आधारित अभियान, वकालत कार्यशाला, मिडिया अभियान र स्वास्थ्य संस्था सुदृढीकरणका क्षेत्रमा रणनैतिक रुपमा काम गरिने स्पष्ट पार्नुभएको थियो । परियोजनाले सञ्चार क्षेत्र सँग समन्वय गरेर विषय केन्द्रित नीतिगत सुधारका लागी पहल गर्ने उहाँले बताउनुभयो ।
सञ्चार क्षेत्रको सहकार्यमा यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्यका मुद्दाहरू सम्बोधन गर्न तिनै तहका सरकार सँग नीति कार्यान्वयन र आवश्यताका आधारमा संसोधनका लागि वकालत गरिने कालिकाका कार्यकारि निर्देशक रामेन्द्र सिँह रावलले बताउनुभयो । लैङ्गिक हिंसा उन्मुलन र युवा तथा किशोराको स्वास्थ्य सेवामा पहुँच बृद्धि गराउने गरी परियोजना कार्यान्वयनमा लगिने उहाँको भनाई रहेको थियो ।
कार्यशाला आयोजनाले तिनै जिल्लाका प्रजनन स्वास्थ्यका सवाल र मुद्दा उठानमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको कालिकाका अध्यक्ष मन्दिप सिंहको भनाई थियो । कार्यशालामा सहभागिता जनाईरहेका पत्रकारहरुले आफुहरुले यस्ता खालका विषयमा निरन्तर कलम चलाउँदै आएको र आगामी दिनमा परियोजना संग जोडिएर थप गम्भिरताका साथ विषयबस्तुको उठान गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
प्रतिक्रिया