६ पुस ,नवलपरासी:
प्राय घरधन्दामा सीमित हुने महिलाहरू पछिल्लो समय नेतृत्वमा रहेर काम गर्न थालेका छन् । घर सम्हालेका महिलाहरूले वन समेत राम्रोसित सम्हालेका छन् । सामुदायिक वनमा महिलाहरूको नेतृत्व निकै राम्रो छ ।
नवलपरासी पश्चिममा हाल ६५ वटा सामुदायिक बन रहेका छन् । ३ वटा सामुदायिक वन महिलाले सम्हालेका छन् । बर्दघाट १२ मा रहेको बुद्धमङ्गल महिला सामुदायिक बन, सुनवाल ७ मा रहेको ज्यामिरे सामुदायिक बन र सुस्ता २ मा रहेको मदारबाबा सामुदायिक बनमा महिलाहरूले नेतृत्व गरेर बन संरक्षणका क्षेत्रमा काम गरेका हुन् । हरेक बन उपभोक्ता समुहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित छ ।
विवादित रहेका सामुदायिक वनको नेतृत्व गर्न पुरुषहरू असमर्थ रहेपछि महिलाहरूले नेतृत्व सम्हालेका हुन् । प्रदेश नं. ५ र ४ को सिमा विवाद र नदीजन्य पदार्थको चरम दोहन भैरहेको मदारबाबा सामुदायिक वनमा कुन्ती मुखियाको नेतृत्व पाए पश्चात भने सिमा विवाद निरुपण सँगै पहिलो पटक कटानको काम थालनी गरेको छ । बगर र नाङ्गा डाडाहरुमा तारबार र वृक्षरोपण सम्पन्न गरे पनि वन संरक्षणका लागि समुदाय नै चुनौतीको रुपमा रहेको मुखिया बताउनुहुन्छ। दिउसोको समयमा गस्ती गरेर वनको रेखदेख गरे पनि चरिचरण र काठदाउरा चोरीकार्य रोक्न निकै समस्या भएको उहाँको भनाइ छ ।
जल, जमिन र जङ्गलमा महिलाको स्वामित्व स्थापित गर्नु पर्दछ भन्ने सामुदायिक वनको अवधारणा अनुसार महिलाको नेतृत्वमा आए पश्चात वनको संरक्षणमा कायापलट गर्न सफल वन हो ज्यामिरे सामुदायिक वन । महिलाहरूले रातको समयमा जङ्गलमा गस्ती गर्न नसक्ने आरोप र लाञ्छना लाग्ने गरेको मा टिचन गुरुङले अध्यक्षता पाए सँगै वन हेरालुमा समेत महिलाहरूनै रहेर काम गरेको अध्यक्ष गुरुङले बताउनुभयो। उहाँ भन्नुहुन्छ “ महिलाहरू वन जङ्गल सँग प्रत्यक्ष जोडिने भएको हुँदा महिला स्वयम् सामुदायिक वनको नेतृत्व गर्नै स्थानमा पुग्दा वन जङ्गलको संरक्षणमा निकै सहजता भएको छ ।”
काम गर्नै क्रममा सुशासन र पारदर्शितालाई ध्यानमा राख्दै काम गरेको भए पनि आफुहरुलाई असफल बनाउनका लागी अख्तियारमै मुद्दा दायर गरेर अदालत धाउनुपर्ने अवस्था सृजना गरेको उहाँको गुनासो छ ।
वनको आम्दानीको स्रोतको मुख्य पाटो काठदाउरा कटान मात्रै हुँदैन भन्ने ज्वलन्त उदाहरण बनेको छ बुद्धमङ्गल महिला सामुदायिक वन । सामुदायिक वन भित्र रहेको बुद्धमङ्गल ताल बर्दघाट नगरपालिकाको प्रमुख पर्यटकीय स्थल हो । तालको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिका लगायत अन्य सङ्घसंस्थाका बाट आर्थिक सहयोग आउने गरेको छ । चौतर्फी रूपमै अतिक्रमणमा परेपछि मात्र महिलाको हातमा परेको यो वनलाई अतिक्रमण रोक्नुनै पहिलो प्राथमिकता रहेको बताउनुहुन्छ बुद्धमङ्गल महिला सामुदायिक वनकी अध्यक्ष गोमा खाती ।
केही सामुदायिक बनले महिला समुह बनाएर सामूहिक जडिबुटी खेती, बेलको जुस उत्पादन, बाँस र वेतका मुढा बनाउने, काम गरी महिलाहरूलाई उद्यमशीलतामा जोड्ने कार्य गर्दै आईरहेका छन् ।
स्थापनाकाल देखी समुहमा बसेर आफूमा निखारता ल्याउँदै आएका महिलाहरू अहिले समुहको नेतृत्व तहमै रहेर काम गर्ने गरेका छन् ।
पश्चिम नवलपरासी मा रहेका सामुदायिक बनको छाता सङ्गठनको रुपमा रहेको सामुदायिक बन उपभोक्ता महासङ्घको नेतृत्वमा महिलाकै प्रतिनिधित्व छ । सामुदायिक बन उपभोक्ता समुहमा लामो समय काम गरेको अनुभव सँगाल्दै शारदा पोखरेलले नेतृत्व गरिरहनुभएको छ । काम गर्नै क्रममा गर्भ लाग्ने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ “महिलाको नेतृत्वमा काम गर्न कठिनाइ पनि रहेको छ । ठाउँमा गरिएका कुराको सुनवाई नहुँदा अप्ठ्यारो हुने गरेको छ ।” महिलाहरूले नेतृत्व गरेको ठाउँमा पारदर्शिता रहेको छ । कतिपय सरकारी निकायमा गएर कुरा राख्दा सुनवाई नहुने गरेको उहाँको भोगाई छ । तपाईहले आफुले गरेका काम बाट कतिको सन्तुष्ट कति हुनुहुन्छ भनेर प्रतिप्रश्न राख्ने खालका भोगाई रहेको उहाँ बताउनुहुन्छ । पुरुषहरुले बढि हाउभाउ गर्नै भएतापनि महिलाहरूले नेतृत्व गरेको ठाउँमा आर्थिक पाटो भने चुस्त दुरुस्त रहने गरेको पोखरेलको भनाई छ ।
महिलाहरूले नेतृतव गरेका सामुदायिक बन राम्रो सँग संचालन भैरहेको बताउनुहुन्छ सामुदायिक बन उपभोक्रा महासंघ नेपालका केनिद्रय सदस्य कमल परियार। शुसान सहभागितामुलक नेतृत्व विकास जल जमिन र जङ्गलमा महिलाको स्वामित्व हुनुपर्छ भन्ने अवधारणाका साथ अगाडि बढेको उहाँको भनाई छ । महिलाहरुले चाहेमा घरमै बसेर जङ्गलको संरक्षण गर्न सक्ने सामथ्र्य राख्ने भएकोले बन संरक्षणमा महिलाको भूमिका अग्रणी रहेको परियार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ सामुदायिक बन भित्रका नाङ्गा डाँडाहमा विरुवा रोप्ने , संरक्षण र हुर्काउने कार्यमा सबैभन्दाबढि महिलाहरूनै सहभागि जनाउँदै आईरहेको र आगलागीका कारण बन क्षती हुँदा गाग्रीमा पानी बोकेर लगेर बनमा आगो लाग्दा निभाएर बन बचाएका ईतिहाँस अहिले पनि जिवित छ ।”
पुरुषहरुमा धेरै स्वार्थको लडाई हुने तर महिलाहरू ईमान्दार र निस्पक्ष भएर पारदर्शी रुपमा काम गर्ने भएकोले कतिपय ठाउँमा पुरुषहरू नेतृत्व लिन तयार नभएर महिलाले नेतृत्व समालेपछि सफल ब्यबस्थापन भएका उदाहरण रहेको परियार बताउनुहुन्छ ।
सुनवल १२ भूमहीकी सुमित्रा भट्टराई सामुदायिक बन उपभोक्ता समुहमा रहेर काम गर्न लागेको धेरै समय भैसक्यो । उहाँ हाल बाबा बर्दगोरिया सामुदायिक बनको सचिव हुनुहुन्छ । घर भित्रै सीमित हुने महिलालाई घरको काम सकेर सामाजीक कामको लागि समय ब्यबस्थापन गर्नु आफैमा चुनौतिपूर्ण रहेको उहाँ बताउनुहुन्छ । महिलाहरू नेतृत्वमा आउनु गौरवको कुरा भएको उहाँको बुझाई छ । उहाँ भन्नुहुन्छ “ महिलाहरू नेतृत्वका लागि सक्षम छन् तर पुरुषनै हुनुपर्छ भनने मानसिकताका कारण महिलाहरूलाई निरिह हुन्छन्, कमजोर हुन्छन् भन्ने मानसिकताले गर्दा आत्मबलको अभाव छ ।”
बन सँग पुरुष भन्दा महिलाकै बढि सम्बन्ध हुने उहाँ बताउनुहुन्छ । घरमा रहने महिला पनि घाँस दाउरा, स्याउला, पात पतिङ्गर लिन जङ्गल जानैपर्ने हुनाले पनि बनको माया महिलालाई बढि हुने भट्टराईको भनाई छ । महिलाहरूलाई जङ्गलको उपभोग र संरक्षणको बारेमा सचेत गराउन सके बनको संरक्षणमा टेवा पुग्ने उहाँ बताउनुहुन्छ ।
योजनाको स्थायित्व र निरन्तरको अभाव
सुरुवाती चरणमा उद्यमशिलताको विकासलाई प्राथमिकता दिएका सामुदायिक बनले नेतृत्व परिवर्तन भए सँगै त्यस्ता कार्यलाई प्राथमिकता नदिँदा कतिपय सामुदायिक बनमा संचालित योजनाहरुले गति लिन नसकेकोमा भने महिला दिदीवहिनीहरुको गुनासो छ । बर्दघाट २ चिसापानीमा रहेको चिसापानी सामुदायिक बन नमुना बनको उपाधी पाईसकेको बन हो । यस बन समुहमा आवद्ध महिला दिदीबहिनीहरुको आर्थिक अवस्था सुधार र नेतृत्व विकासका लागि महिला समुह गठन गरी जडिबुटी खेती गरिदै आएको थियो । जडिबुटीको प्रसोधनका लागि सामुदायिक बनलेनै प्लान्ट संचालनमा ल्याएको थियो । जडिबुटी खेती सुरु गरेको केहि बर्ष उत्पादन पनि राम्रो भएको र त्यबाट राम्रै आर्थिक आम्दानी गरिए पनि अहिले त्यसले निरन्तरता पाउन नसकेको लालिगुराँस जडिबुटी समुही अध्यक्ष माया परियार बताउनुहुन्छ । सामुदायिक बनमा नेतृत्व परिवर्तन भए सँगै पछिल्लो समय जडिबुटी खेती र प्रसोधनको पाटोलाई प्राथमिकता नदिँदा अहिले समुहले सोचेजस्तो काम गर्न नसकेको उहाँको भनाई छ । हाल बाहिर बाट अम्लीसो मगाएर समुहमा आबद्ध महिला दिदीबहिनीहरुले कुचो तयार गरी विक्रिवितरण गर्ने गरेको तर यसमा सामुदायिक बनको तर्फबाट कुनै सहयोग प्राप्त नभएको उनको गुनासो छ ।
चिसापानी सामुदायिक बनमा जडिबुटी प्रशोधन केन्द्र संचालनमा आए सँगै अन्य सामुदायिक बनले पनि महिलाहरूलाई समुह बनाएर जडिबुटी खेतीमा आवद्ध बनाएका थिए । तर यो योजनाले लामो समय निरन्तरता पाउन सकेन ।
सामुदायिक बनको नेतृत्व आवधिक हुने भएकोले निश्चित अवधी पछि नेतृत्व परिवर्तन हुने र नेतृत्व गर्ने ब्यक्तिको सोच र ईच्छा शक्ति फरक फरह हुने हुँदा कतिपय विगतमा असल सुरुवात गरिएका योजनाहरुले निरन्तरता पाउन नसकेको महिलाहरूको गुनासो छ ।
सामुदायिक बनसमुह र सरकार विच पछिल्लो समय द्धन्दको अवस्था सिर्जना हुँदा स्थानियर सरकारले पनि सामुदायिक बन संग सहकार्य गरी महिला उद्यमशिलताका क्षेत्रमा काम गर्न सकिरहेका छनन् । सामुदाकिय बनलाई उत्पादन सँग जोडेर नागरिकको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हासिल गर्ने आवाज भाषणमा मात्र सीमित हुनेगरेको छ ।
बैदेशिक रोजगारमा जाने लहरका कारण वनमा पहिले जस्तो जनसहभागिता अहिले नरहेको बताउनुहुन्छ डिभिजन वन कार्यालय प्रमुख जिवन पंगेनी । महिलाहरू समुहमा आबद्ध भएर साना तथा मझैला उधोगहरु संचालन गर्नु राम्रो तर आर्थिक स्रोत सामुदायिक वनमा मात्रै रहेको हुँदा डिभिजन वन कार्यालय बाट उचित सहयोग गर्न नसकिएको उनको भनाई छ । सामुदायिक वनले सामाजिक उत्तर दायित्व अन्र्तगत शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा खर्च गरेतापनि सरकारलाई कर तिर्न गुनासो मान्ने गरेको बताएका छन् ।
२०५२ सालमा सामुदायिक बन उपभोक्ता समुह गठन भए देखिनै नवलपरासीमा गठित उपभोक्ता समुहहरुले महिला सहभागितालाई उच्च प्राथमिकता दिँदै आएका छन् । स्थापना काल देखिनै समुहमा ५० प्रतिशत महिलाको सहभागिता गराउँदै आएका छन् । सामुदायिक बनको २९ वर्षे यात्रामा सामुदायिक बन समुहमा रहेर काम गरेका धेरै महिलाहरू समाजका अन्य संघ संस्थाको नेतृत्व गर्न र सामाजीक नेतृत्वको रुपमा स्थापित भएका छन् । कतिपय महिलाहरू राजनितिक नेतृत्वमा पनि अगाडि बढेका छन् । सामुदायिक बन समुहको मुख्य भूमिका बन संरक्षण सँग जोडिएको भए पनि यसले महिलको नेतृत्व र क्षमता विकासमा महत्वुपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।
सरकारी स्तर बाट बनको संरक्षण सम्भव नभएपछि बनबाट लाभ लिने उपभोक्ताहरुलाई संगठित गरी सामुदायिक बनको धाराणामा बन संरक्षणको कदम अगाडि बढाए सँगै बन संरक्षणको क्षेत्रमा राम्रो नतिजा आउन थालेको हो । सामुदायिक बनले बन संरक्षण संगसंगै उपभोक्ताहरुको जीवनस्तर उकास्न र नेतृत्व विकासका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।
प्रतिक्रिया