+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

 बर्दघाट प्रतिष्ठानद्वारा नाट्य गोष्ठी तथा प्रदर्शन सम्पन्न 

न्यूज कुरा
२०८१ माघ १७, बिहीबार

 नवलपरासी: बर्दघाट प्राज्ञ प्रतिष्ठानको आयोजनामा बिहीबार नाट्य गोष्ठी तथा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नाटकको महत्व, यसको तत्त्वहरू तथा विद्यालय स्तरमा यसको प्रभावकारिताबारे बौद्धिक बहस गरिएको थियो।

सुसेली कला समूहका अध्यक्ष बद्री सुवेदीले कार्यपत्र प्रस्तुत गर्दै नाटकका प्रमुख तत्वहरू – पात्र, संवाद, दृश्य, निर्देशन, विषयवस्तु, प्लट, रङ्गमञ्चीय व्यवस्था, प्रकाश तथा ध्वनि प्रभाव, वेशभूषा र मेकअप रहेको उल्लेख गर्नुभयो। सुवेदीका अनुसार यी सम्पूर्ण तत्त्वहरूको समुचित संयोजनले नाटकलाई प्रभावकारी बनाउने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरप्रमुख तथा प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक शम्भुलाल श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले नगरको साहित्यिक उचाइ बढाएको बताउनुभयो । त्यस्तै बर्दघाट नगरपालिकाका उपप्रमुख एवं प्रतिष्ठानका संरक्षक रुद्रप्रकाश उपाध्यायले नगरभित्र बौद्धिक बहस सञ्चालन गर्न सफल भएको बताउँदै भाषा तथा साहित्यलाई नगरको भावी पाठ्यक्रममा विशेष प्राथमिकता दिने जानकारी दिनु भयो। उहाँले कला र नाटकले नागरिकलाई जवाफदेही बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

नगर प्रवक्ता सन्तबहादुर गाहाले विद्यालयहरूलाई विद्यार्थीहरूको प्रतिभा प्रस्तुत गर्ने स्थल बनाउनु पर्नेमा जोड दिँदै नाटकमार्फत सरसफाइ, वन संरक्षण तथा नवीन सिकाइ प्रवर्द्धन गर्न सकिने बताए। साथै, उनले विद्यालयहरू बीच नाटकीय प्रतिस्पर्धा सञ्चालन गर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेले नाटकलाई काव्यको सर्वाधिक महत्वपूर्ण विधा ठहर गर्दै नाटकको ऐतिहासिक पृष्ठभूमि बारे चर्चा गर्नुभयो । उहाँले प्राचीन कालमा नाटकलाई नै काव्य मानिएको र नाटककार भरतमुनिले नाटकलाई मनोरञ्जनात्मक बनाउनुपर्ने सिद्धान्त प्रतिपादन गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयका प्राचार्य विश्वराज भट्टराईले विद्यालयमा नाटक प्रस्तुत गराउन सके सिकाइ प्रभावकारी हुने भनाई राख्नुभयो । कार्यक्रममा प्रतिष्ठानका सदस्य जीवनाथ पौडेलको स्वागत मन्तव्य, सदस्य सचिव शरद पौड्यालले कार्यक्रम सञ्चालन र अध्यक्षता प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेको रहेको थियो । कार्यक्रममा भ्रष्टाचार विरुद्ध सुसेली कला समूहको टिमले नाटक प्रस्तुत गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ