२ पुस, नवलपरासी : बर्दघाट उद्योग वाणिज्य सङ्घको आयोजनामा आठौँ बर्दघाट महोत्सव हुने भएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पुस ८ गते देखी १८ गते सम्म महोत्सव सञ्चालन हुने जानकारी दिएको हो ।
कृषि पर्यटन उद्योग र ब्यापार समृद्ध बर्दघाटको बलियो आधार भन्ने मूल नारालाई आत्मसाथ गर्दै बर्दघाट नगरलाई कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक नगरको रुपमा परिचित गराउँदै उपभोक्तालाई नगर भित्रै किनमेल गर्ने बानीको विकास गर्नु मुख्य लक्ष रहेको अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो ।
सङ्घले स्थापना गरेको राहत कोषलाई वृद्धि गर्नु पनि महोत्सवको लक्षको रुपमा राखिएको छ । हरियालिनगर स्थित बर्दघाट मण्डपमा सञ्चालन हुने महोत्सवले राष्ट्रिय स्तरका उत्पादनलाई बजार प्रवर्द्धन र विस्तार गर्ने, व्यवसायीबीच आपसी समन्वयको भाव विकास गराउने, कृषि उत्पादनलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पु¥याउने, स्थानीय कृषि, घरेलु तथा लघु उद्यमको बजार प्रबर्द्धन गर्न टेवा पु¥याउने, धार्मिक एवम् पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्ने उद्देश्य लिएको छ ।
कृषिका उत्पादनका स्टल बढाउनका लागि आफूहरूले सक्दो प्रयास गरिरहेको र स्थानीय सरकार सँग समन्वय गरेर अगाडि बढ्ने अध्यक्ष न्यौपानेले बताउनुभयो । महोत्सवको अवलोकनका लागि साधारण तर्फ ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको र अपाङ्ग, जेष्ठनागरिक र अशक्तहरुका लागि निशुल्क प्रवेशको ब्यवस्था मिलाइने आयोजकले जनाएको छ ।
कृषि, हस्तकला र घरेलु उत्पादनलाई निशुल्क स्टल उपलब्ध गराइने बताईएको छ । मेलामा दैनिक उपभोग्य बस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, शैक्षिक , स्वास्थ्य, बैँक तथा वित्तिय संस्था, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादनका स्टलहरू रहने छ ।
२ सय ५० वटा स्टल निर्माण गरिने र मेला सञ्चालनकालागि ६० देखी ७० लाख खर्च हुने अनुमान गरिएको महासचिव गंगा प्रसाद पाठकले बताउनुभयो । महोत्सवको २ लाख दर्शकले अवलोकन गर्ने आँकलन गरिएको छ ।
प्रतिक्रिया