+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीको नियमन गर्ने निकायको अभाव हुँदा समस्या बढ्योः सांसद खनाल

विष्णु खनाल
२०८१ आश्विन १६, बुधबार

१६ असोज, नवलपरासी : सहकारी संस्थाहरूको नियमन गर्ने निकाय नहुँदा सहकारीमा समस्या बढ्दै गएको प्रतिनिधि सभा सदस्य सरिता खनालले बताउनुभएको छ । बर्दघाटमा रहेको ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्थाको ३१ औँ वार्षिक साधारणसभा अन्तरगत बर्दघाट सेवा केन्द्रको कार्यक्रममा बोल्दै सांसद खनालले सहकारीहरू नीति विधि भन्दा बाहिर गएर सञ्चालन हुँदा समस्या देखिएको बताउनुभयो । 

नीति विधिको प्रवाह नगरी बढि लाभ लिने प्रलोभनमा परेर शिक्षित र बौद्धिक ब्यक्तिहरू  पनि ठगिने गरेको बताउँदै सदस्यहरूले सहकारीहरू ऐन नियम अनुसार सञ्चालन भएका छन् कि छैनन् भनेर निगरानी गर्नुपर्ने खनालको भनाई रहेको थियो । सहकारी ठगी प्रकरणमा सत्य तथ्य पत्ता लगाउन बनेको संसदीय समितिकी सदस्य समेत रहेकी खनालले बढि लाभ लिने प्रलोभनले गर्दा उच्च पदस्थहरू पनि  ठगिएको बताउनुभयो ।
देशभर ३१ हजार बढि सहकारी रहे पनि ५ देखी ५ सयको हाराहारीमा रहेका सहकारीमा मात्र समस्या भए पनि त्यसको प्रभाव सबैतिर पुगेको उहाँको भनाई थियो । ठुलो पुँजीमा कारोबार गर्ने शहर केन्द्रित सहकारिमा बढि समस्या रहेको उहाँले बताउनुभयो । 

साधारणसभामा बोल्दै सहकारीका अध्यक्ष रविन्द्र विक्रम हमालले ग्रामीण बाल्मिकी साकोसले पारदर्शिताको अभ्यास गरिरहेको र सदस्यहरूको विश्वासको कारण निर्धक्क भएर संस्था अगाडि बढिरहेको बताउनुभयो । सहकारीले सदस्यहरूको जीवनस्तर उकास्ने धेयका साथ काम गरिरहेको उहाँको भनाई रहेको थियो । कोभिडको समयमा लामो समय भएको लडाउनका कारण सिर्जित आर्थिक मन्दीका कारण सदस्यहरूले आफूले लिएको ऋणको साँवा र ब्याज समयमा तिर्न नसकेका कारण संस्थाले यस वर्ष आर्जन गरेको मुनाफा जोखिम कर्जा कोषमा राख्नुपरेको हमालले बताउनुभयो । संस्थाले यस वर्ष सोही कारणले लाभांश वितरण गर्न नसेकेको बताउनुभएको थियो । 

संस्थाले ऐन नियम र कानुनको पूर्ण पालना गरेकोले सदस्य हरुको बचतको सुरक्षामा कुनै समस्या नरहेको र सहकारी राम्रो अवस्थामा अगाडि बढिरहेको हुँदा सदस्यहरू ढुक्क हुन हमालको आग्रह थियो । 

साधारणसभामा संस्थाका सल्लाहकार बद्रिनाथ खनाल, देवीप्रसाद अधिकारी, मनकुमारी गुरुङ, पूर्व सञ्चालक शिव कुमारी भट्टराई , पत्रकार नारायण भण्डारी, बर्दघाट उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष तारा प्रसाद गौतम, सदस्य टेक बहादुर आर सी ले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

संस्थाको नीति तथा कार्यक्रम सह सचिव कृष्ण गौतम, आर्थिक प्रतिवेदन कोषाध्यक्ष मुरलीकृष्ण खनाल , लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक भानुभक्त ढकालले गर्नुभएको थियो । 

साधारणसभामा विभिन्न विधामा शेयरसदस्यहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाकी सदस्य बसन्ती थापाको स्वागत मन्तबय रहेकोथियो भने कार्यक्रमको सञ्चालन सहसचिव कृष्ण प्रसाद गौतमले गर्नुभएको थियो । 

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु खनाल

ट्रेन्डिङ