१५ असोज, नवलपरासी : ग्रामीण बाल्मीकी बचत तथा ऋण सहकारी संस्था ली. को ३१ औं वार्षिक साधारणसभा अन्तरगत मङ्गलबार ( आज ) दाउन्नेदेवी सेवाकेन्द्रको साधारणसभा सम्पन्न भएको छ । बर्दघाट ७ जिमिरेभारमा मुख्य कार्यालय रहेको सहकारीको नगर भित्र ६ वटा सेवाकेन्द्र सञ्चालनमा रहेका छन् ।
संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता र वडा नम्बर १६ का वडा अध्यक्ष भीमकाजी गुरुङको प्रमुख आतिथ्यमामा सेवाकेन्द्रको साधारणसभा गरिएको हो । सह सचिव कृष्णप्रसाद गौतमले ले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मुरली कृष्ण खनालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका सदस्य राजकुमार विकले प्रस्तुत गर्नुभएको प्रतिवेदन सँगै साधारणसभामा ल्याइएका सम्पूर्ण प्रस्तावहरू पारित भएका छन् ।
साधारणसभामा बोल्दै प्रमुख अतिथिका रुपमा रहनुभएका बर्दघाट वडा नम्बर १६ का वडा अध्यक्ष भीमकाजी गुरुङले सहकारीमा महिला सदस्यहरूको सङ्ख्या बढि हुनु सकारात्मक पक्ष रहेको बताउनुभएको थियो । उहाँले महिला दिदीबहिनीले सहकारीमा बचत गर्नका लागि श्रीमान सँग माग्नुपर्ने, परिवारका अन्य सदस्य सँग माग्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि वडा कार्यालयले महिलालाई उद्यमशीलतामा जोड्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभएको थियो ।
ग्रामीण बाल्मिकी साकोसले बाह्य ऋण नलिई आन्तरिक पुँजी मात्र परिचालन गरेकोमा यसले सहकारीलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने गुरुङको भनाई रहेको थियो ।
सहकारीमा सदस्यले गर्नुभएको बचतको सुरक्षाका लागि सञ्चालक समितिले गम्भीरताका साथ काम गरिरहेको बताउनुभएको थियो । उहाँले नीति र विधिमा चलेकै कारण धेरै सहकारीमा सङ्कट आइरहँदा ग्रामीण बाल्मिकी ढुक्कका साथ सञ्चालन हुँदै आइरहेको बताउनुभयो ।
साधारणसभामा शेयर सदस्य गङ्गाधर सापकोटा, सल्लाहकार बसन्तकुमार रेग्मी र सञ्चारकर्मी नारायण भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा दाउन्नेदेवी कलाकेन्द्रका उत्कृष्ट शेयर सदस्य, ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट व्यवसायी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता हरूलाई सम्मान गरिएको थियो ।
सहकारीका सञ्चालक समितिका सदस्य एवं दाउन्नेदेवी सेवाकेन्द्रका संयोजक विमला अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन सह सचिव कृष्ण प्रसाद गौतमले गर्नुभएको थियो ।
एकाइगत रुपमा सञ्चालन हुने साधारणसभा असोज २१ गते सम्म चल्नेछ । बुधबार बर्दघाट सेवाकेन्द्रको साधारणसभा हुनेछ ।
प्रतिक्रिया