+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दर्शन सहकारीको ११ औँ साधारणसभा सम्पन्न 

न्यूज कुरा
२०८१ भाद्र २९, शनिबार

२८ भदौ, नवलपरासी : श्री दर्शन बचत तथा ऋण सहकारी संस्था लि को ११ औँ वार्षिक साधारणसभा बर्दघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवेन्द्र बहादुर मल्लको अध्यक्षता र राष्ट्रिय सहकारी बैङ्कका बर्दघाट शाखा प्रबन्धक परीक्षित ठकुरीको प्रमुख आतिथ्यमामा भएको साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ का प्रतिवेदन र  आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमहरू पारित गरेको छ । 


साधारणसभामा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका ठकुरीले सहकारीहरू अनुत्पादक क्षेत्रमा गर्दै आइरहेको लगानी नरोके सङ्कटमा पर्ने बताउनुभयो । उहाँले विशेषगरी ठूला सहरका सहकारीले घर जग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने र सदस्यले बचत गरेको रकम पदाधिकारीहरूले व्यक्तिगत प्रयोग गर्ने प्रवृत्तिले गर्दा शकारी क्षेत्रमा सङ्कट देखापरेको बताउनुभयो । सहकारीले सदस्यहरूको  जीवनस्तर परिवर्तन गरी आर्थिक रुपमा सबल बनाउनका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने र शेयर सदस्यहरूले पनि निरन्तर सहकारीको बारेमा चासो व्यक्त गर्नुपर्ने ठकुरीको भनाई रहेको थियो । 

सहकारीका संस्थापक अध्यक्ष एवं बरिष्ठ सल्लाहकार शिद्धिविलास हमालले दर्शन बचत तथा ऋण सहकारी संस्था ठकुरीहरूको एकल जातीय सहकारी भएको बताउनुभयो । सहकारी स्थापनाका क्रममा भोग्नुपरेका समस्याहरू स्मरण गर्दै हमालले चुनौतीहरू पार गर्दै सफलता तर्फ अगाडि बढेको धारणा व्यक्त गर्नुभएको थियो । सहकारीले विभिन्न ठाउँबाट आएका ठकुरी हरुलाई गोलबद्ध गाउन पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै हमालले सहकारीको विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो । संस्थाको ११ बर्से इतिहास र अभिलेखलाई स्मारिका मार्फत उजागर गर्न आवश्यक रहेको भन्दै सदस्यहरूले पनि त्यसमा सहयोग गर्नुपर्ने उहाँको भनाई रहेको थियो । 

ठकुरी समाज का  पूर्व इकाई अध्यक्ष वीर बहादुर मल्ल ठकुरीले सहकारीमा इमान्दारिताको खाँचो रहेको बताउनुभयो । ठकुरीहरूको आत्मियता र एकताका लागि सहकारी खोलिएको मल्लको भनाई रहेको थियो । 

शिक्षा समिति सदस्य हिरा देवी शाहीले हुनेखानेहरुले सहकारी बिगारेको बताउँदै हुँदा खानेहरूको पहुँचमा सहकारी पुग्नु आवश्यक रहेकोमा जोड दिनुभएको थियो । पछिल्लो समय ऋण लिएपछि तिर्नु पर्दैन भन्ने मानसिकता बढ्दै गएका कारण सहकारीहरू जोखिममा पर्दै गएकोमा ऋण लिएकाहरूले इमान्दारपूर्वक तिर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 


साधारणसभाले अध्यक्ष देवेन्द्र बहादुर मल्लले प्रस्तुत गर्नुभएको प्रतिवेदन, सचिव कृष्ण मल्लले प्रस्तुत गर्नुभएको प्रतिवेदन, कोषाध्यक्ष चन्दा मल्लले प्रस्तुत गर्नुभएको प्रतिवेदन र लेखा संयोजक गौतम ध्वज मल्लले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ । 

२०७० सालमा नवलपरासी जिल्ला एक हुँदा अरुणखोलामा स्थापना भएको सहकारीमा हाल ३ सय ७० जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी २२ लाख ११ हजार ८ सय रहेको छ । सहकारीले स्थापना काल देखिनै ठकुरीहरूको एकल जातीय सहकारीको रुपमा परिचय बनाउँदै आएको छ । 


साधारणसभामा संस्थापक सदस्य, असल ऋणी, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट बचत कर्ताहरुलाई सम्मान गरिएको थियो । 
कार्यक्रमको सञ्चालन सचिव कृष्ण मल्लले गर्नुभएको थियो भने उपाध्यक्ष सङ्गीता खाँडको स्वागत मन्तव्य रहेको थियो । 

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ